बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना मर्मतमा तीन वटा निकाय खटिएका छन् ।
तीन सातायता मेलम्चीको मर्मत मेलम्ची खानेपानी आयोजना, सिँचाइ मन्त्रालय र सडक विभागले गरिरहेका छन् । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तका अनुसार अहिले हेडर्वक्सको काम भइरहेको छ । जहाँ बाढीले ल्याएर थुपारेको थेग्रिनी छ । हेडर्वक्स वरपर ठूलो मात्रामा थेग्रिनी छ । थेग्रिनी सफा गर्ने क्रममा ठूला–ठूला चट्टान फेला परेका छन् । ‘ती चट्टान विस्फोटक पदार्थ प्रयोग गरेर फुटाउँदै हटाउने काम भइरहेको छ,’ पन्तले भन्नुभयो , ‘त्यो काम मेलम्ची खानेपानी आयोजना विकास समितिले गरिरहेको छ ।’ पन्तका अनुसार थेग्रिनी दसदेखि पन्ध्र मिटरसम्म छ, सँगै ठूला ढुंगा फेला परिरहेका छन् ।
गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो । बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो । टालिएको मुख्य सुरूङ सफा गरिसकिएको छ । त्यहाँ रहेको पानी बाहिर निकालिएको छ । ‘अहिले सुरूङ निरीक्षणको काम भइरहेको पन्तले जानकारी दिनुभयो । हेडवर्क्स क्षेत्रमा अस्थायी कफरड्याम बनाउने विषयको टुंगो लागिसकेको छैन । ‘सफा गर्दै जाँदा कफरड्यामको अवस्था के छ, अस्थायी बनाउँदा हुन्छ या स्थायी बनाउनुपर्छ भन्ने अहिले यकिन भएको छैन,’ पन्तले भन्नुभयो । यस्तै, नदी नियन्त्रणको काम सिँचाइ विभागलाई दिइएको छ भने सडक र पुल निर्माणको काम सडक विभागलाई दिइएको छ ।
सिँचाइ विभागले नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइरहेको छ । मेलम्चीको माथिल्लो भाग भ्रेमाथाङको अध्ययन गरिरहेको विज्ञ टोलीसँग समन्वय गरिरहेको छ । सडक विभागले विभिन्न खण्डमा गरेर क्षति भएको ८ किलोमिटर सडकको ट्रयाक खोलेको छ । विभागले ट्रयाक खोलेसँगै हेडर्वक्स र सुरूङको काम गर्न सम्भव भएको हो ।
मेलम्चीका आयोजना क्षेत्रमा ६ वटा मोटरेबल पुल थिए । तीमध्ये तीन वटा मोटरेबल पुल बनेका छन् । बाँकी तीन वटा बन्न बाँकी छ । ‘ती पुल अहिले अस्थायी रूपमा बनाइएका छन्, स्थायी रूपमा बनेको छैन,’ पन्तले भन्नुभयो । यी सबै काम कहिले सकिन्छन् भन्ने समयको टुंगो छैन । त्यसैले अहिले पानी कहिले राजधानी झार्न सकिन्छ भनेर किटान गर्ने अवस्था नरहेको पन्त बताउनुहुन्छ । ‘चैतसम्ममा पानी राजधानी झार्ने योजना छ, त्यही अनुसार काम भइरहेको छ,’ पन्तले भन्नुभयो ।
गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो । मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिनी छ । त्यो थेग्रिनी वर्षाका क्रममा बगिरहने भएकाले नियन्त्रणको दीर्घकालीन उपाय खोज्नुपर्ने भएको छ ।
मेलम्चीको माथिल्लो भागको भौगर्भिक अध्ययन गर्न विज्ञ टोली खटिएको थियो । एसियाली विकास बैंकको समन्वयमा टोलीले भौगर्भिक अध्ययन गरिसकेको खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले बताउनुभयो । ‘टोलीले अध्ययन सक्यो, तर रिपोर्ट दिइसकेको छैन,’ ढकालले भन्नुभयो ।
