सम्पर्क

प्रेस चौतारीको पाँचौ अधिवेशन भोली ,आठ पत्रकारलाई पुरस्कृत एकलाई सम्मान गरिने

प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशन भोली चौतारामा हुने भएको छ । चौतारीको अधिवेशनको अवसरमा आठ जना पत्रकार पुरस्कृत हुने भएका छन् भने एक पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
चौतारीले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशिलता पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसका सम्पादक मातृका पौडेललाई पुरस्कृत गरिने भएको छ । १० हजार १ सय ११ राशीको यो पुरस्कार पहिलो वर्ष दोलखाका पत्रकार राजेन्द्र मानन्धरलाई पुरस्कृत गरिएको थियो । त्यस्तै प्रेस चौतारी सम्मानबाट पत्रकार प्रमोद न्यौपानेलाई सम्मान गरिने चौतारीका संयोजक विदुर आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै सिन्धु चौतारी युवा क्रियाशिलता पत्रकारिता पुरस्कारबाट रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदीलाई पुरस्कृत गरिदैछ । उक्त पुरस्कारको राशी ५ हजार रहेको छ ।
चोकटीका समाजसेवी बद्री अधिकारीका चार दाजुभाईले आफ्ना बुबा कुलबहादुर अधिकारी र आमा प्रेमकुमारी अधिकारीको नामबाट स्थापना गरिएको प्रेस चौतारी कुलबहादुर प्रेमकुमारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकारहरु ध्रुव दंगाल, रामकृष्ण थापा,नेत्रप्रसाद पौडेल,शर्मीला ठकुरी, निरोज चौलागाई र सुन्दर शिरीषलाई नगद ५ हजार सहित पुरस्कृत गर्न लागिएको पुरस्कार छनोट समितिका संयोजक दिनेश थापाले जानकारी दिनुभयो । अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व समेत छनोट गर्ने छ ।