सम्पर्क

नयाँ शैक्षिक सत्रको पढाइ चुनावपछि

सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ । चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने मन्त्रालयको योजना छ । मन्त्रालयको तयारी अनुसार नै शैक्षिक सत्रको व्यवस्थापन भयो भने निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको शुल्क व्यवस्थापनमा समस्या आउने देखिन्छ ।
यो वर्षको शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्रमा विद्यालय परिवर्तन गर्ने विद्यालयले पुरानो विद्यालयमा कुन महिनासम्मको शुल्क तिर्ने भन्ने अन्योल देखिन्छ । “वैशाखमा परीक्षा सञ्चालन हुने भयो भने मैले छोरालाई ६ कक्षा पढाउन अर्को स्कुल लैजाँदा जेठ लाग्ने भयो । यसो हुँदा पुरानो स्कुललाई पनि वैशाखसम्मै शुल्क तिर्नुपर्ने र अर्को स्कुललाई पनि वैशाख महिनादेखि नै लागू हुनेगरी १२ महिनाकै शुल्क तिर्नुपर्ने हुन्छ ।”
हरेक वर्ष वैशाखबाट शैक्षिक सत्र सुरु गर्नुपर्ने कानुनी व्यवस्था भए पनि कोरोना महामारीका कारण पढाइ अवरुद्ध भएपछि यस वर्ष असारबाट सुरु गरिएको थियो । निर्धारित समयभन्दा दुई महिनापछि मात्रै पढाइ सुरु भएका कारण शैक्षिक सत्रको अन्त्य कुन महिनाबाट हुने भन्ने निक्र्योल भएको छैन ।
शिक्षा मन्त्रालयले भने चैतसम्मै पढाइ सञ्चालन गर्ने र वैशाखमा परीक्षा सञ्चालन, नतिजा प्रकाशन र भर्नासम्बन्धी काम पूरा गर्ने विषयमा छलफल भइरहेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले भन्नुभयो, “यसो गर्दा शैक्षिक सत्र पनि खेर नजाने र पढाइमा पनि बाधा नपर्ने मन्त्रालयको अनुमान छ । यस विषयमा सरोकारवाला र विज्ञसँग छलफल गरेर मन्त्रालयले आवश्यक निर्णय गर्छ ।” राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ देखि २० गतेसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्दै छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनमा धेरै जिल्लामा विद्यालयलाई मतदान केन्द्र बनाउनुपर्ने हुन्छ ।
एसईई परीक्षा वैशाख दोस्रो सातापछि मात्रै सञ्चालन गर्ने बोर्डको योजना रहेको भए पनि निर्वाचनको मिति घोषणा गरिएकाले परीक्षाको मिति पनि अघि सारिएको हो । तसर्थ, निर्वाचनअघि नै पढाइसम्बन्धी सम्पूर्ण तयारी पूरा गरेर जेठ लाग्नासाथ पढाइ सञ्चालन गर्न सकिने मन्त्रालयका प्रवक्ता शर्माले बताउनुभयो । तर, वैशाखभित्रै धेरै काम गर्नुपर्ने भएपछि विद्यालय शिक्षकलाई विगतमा भन्दा धेरै कामको चाप पर्ने देखिन्छ ।