

भोटेकोशी गाउँपालिका वडा नम्बर ५ मार्मीङमा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।
भोटेकोशी गाउँपालिकाको सहयोग र लोकप्रिय नेत्रज्योती सञ्चार समूहको आयोजनामा विहिबार वडा कार्यालयको सभाहलमा भएको कार्यक्रमको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको सँयोजक दाबुटी शेर्पाले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष शेर्पाले “नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सँकल्प गरेको बताउँदै परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थामा महिलाको उल्लेख्य सहभागिता सहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको बताउनुभयो । उपाध्यक्ष शेर्पाले समाजमा विद्यमान यस प्रकारका विकृति र विसँगती विरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउँदै महिला र पुरुषमा भएको असमान शक्ति संरचनामा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । उपाध्यक्ष शेर्पाले लैंगिक हिंसा विरुद्ध ऐक्यबद्धता सहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गर्नुभएको छ ।
त्यसैगरी गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख देवी काफ्लेले हिंसा न्युनिकरण गर्न स्थानीय महिला जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले प्रत्येक वडामा सञ्चालन हुने यस कार्यक्रमले महिला हिंसा न्युनिकरणमा विशेष भुमिका खेल्न सक्नुपर्ने समेत बताउनुभयो । समाजलाई अपराधमुक्त बनाउन सबै पक्षको भूमिका उत्तिकै महत्वपूर्ण हुने धारणा काफ्लेले व्यक्त गर्नुभयो ।
त्यसक्रममा नेपाल आदीबासी महिला उत्थान केन्द्रको अध्यक्ष पानमाया तामाङले घर बाहिर हुने हिंसा समन्यतया तुरुन्तै बाहिर आएपनी घर भित्रको महिला माथी हुने लैंङ्गिक हिंसा छिटो बाहिर नआउने बताउनुभयो । उहाँले सामाजिक मर्यादा, संस्कार, पारिबारिक वातावरण बिगारिने र डर त्रासका कारण घर भित्र हुने लैंङ्गिक हिंसा दविएर रहेको धारणा ब्यक्त गर्नुभयो । लैंङ्गिक हिंसालाई टेवा दिनको लागी सामाजिक कुसंस्कार, कुरिति र पुराना परम्पराहरुले सहयोग गरिरहेको बताउदै तामाङ आजको परिवेशमा विकासका दृष्टीकोणले मानिसहरु आफुलाई एउटा चेतनशिल प्राणीको रुपमा उभ्याउन सफल भएको बताउनुभयो । मानिसहरु नयाँ नयाँ अनुसन्धान, बैज्ञानिक खोजका कारण उसका लागी असम्भव केही पनि छैन तर उही मानवको मनमा उब्जेको कुविचार, संकुचितसोंच, तृष्णा र अंहमताका कारण महिला माथी पशुतुल्य लैंगिक हिंसा जस्ता व्यवहार गरि रहेको धारणा ब्यक्त गर्नुभयो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी प्रहरी निरीक्षक नवराज सापकोटाले लैंङ्गिक हिंसा हुने कारणहरु धेरै भए पनि यसका मुख्य कारणहरुमा महिला माथी हेर्ने पुरुषवादी दृष्टीकोण, पुरातनवादी कुसंस्कारले जकडिएको समाज र परम्परा, महिलाहरुको उत्पादन मुलक श्रोत साधनहरुमा पहुँच र नियन्त्रणको कमी, शिक्षाको कमी, चेतनाको अभाव र राज्यद्धारा बनाईएका कानुनहरु महिला मैत्री नहुनु र भएको कानुनको सही कार्यान्वयन नहुनु रहेको बताउनुभयो । वडा सदस्य पासाङ डोल्मा शेर्पाको सभापतित्वमा भएको कार्यक्रमको लोकप्रिय नेत्रज्योती सँचार समुहको कार्यकारी प्रमुख नेत्रबहादुर बस्नेतले सञ्चालन गर्नुभएको थियो ।
लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम गाउँपालिकाको प्रत्येक वडामा सम्पन्न भएको छ ।कार्यक्रममा जनप्रतिनिधी, शिक्षक, विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधी, महिला स्वास्थ्य स्वयमसेविका , आमा समूहका प्रतिनिधी संघसंस्थाका प्रतिनिधि, गाउँपालिकाको कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
