राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति समशेर जबराले हालै पार्टी परित्याग गर्नुभएका पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताउनुभएको छ ।
बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय पदाधिकारी बैठकअघि सञ्चारकर्मीसँग बोल्दै पूर्व अध्यक्ष राणाले सो कुरा बताउनुभएको हो । उहाँले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताउनुभयो । उहाँले पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको बताउनुभयो ।
‘यो अनपेक्षित घटना हो । उहाँको धेरै गुनासोहरु सार्वजनिक भइसकेको थियो । तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ’, उहाँले भन्नुभयो , ‘अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो । तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ । उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ ।’ पूर्व अध्यक्ष राणाले आगामी तीनै चरणको निर्वाचनमा पार्टी गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।
