सम्पर्क

भोटेकोशीमा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम

 भोटेकोशी गाउँपालिकामा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम शुरु भएको छ ।
भोटेकोशी गाउँपालिकाको सहयोग र लोकप्रिय नेत्रज्योती सञ्चार समूहको आयोजनामा सोमबार वडा नं. ४ बाट कार्यक्रमको सुरुवात गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको सँयोजक दाबुटी शेर्पाले गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष शेर्पाले हिंसाको उत्पति घरैबाट सुरु भई समाज हुँदै देशव्यापी बन्ने बताउनुभयो । उहाँले हिंसा रोक्न प्रत्येक व्यक्ति सदैव सजग बन्नुपर्नेमा जोड समेत दिनुभयो । उहाँले गाउँपालिकालाई हिंसारहित बनाउन प्रयास जारी रहेको बताउँदै त्यसका लागि वडाका सबैपक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भद्रबहादुर बस्नेतले हिंसा न्युनिकरण गर्न स्थानीय महिला जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले प्रत्येक वडामा सञ्चालन हुने यस कार्यक्रमले महिला हिंसा न्युनिकरणमा विशेष भुमिका खेल्न सक्नुपर्ने समेत बताउनुभयो । समाजलाई अपराधमुक्त बनाउन सबै पक्षको भूमिका उत्तिकै महत्वपूर्ण हुने धारणा बस्नेतले व्यक्त गर्नुभयो ।
कार्यक्रमका बोल्दै लोकप्रिय नेत्रज्योती सँचार समुहको अध्यक्ष नेत्र बहादुर बस्नेतले लैंगिक हिँसाको मात्रै नभएर गाउँपालिकाको अन्य कार्यक्रममा पनि हातेमालो गरेर आफुहरु अगाडी वढ्न तयार रहेको बताउनुभयो ।
त्यसक्रममा जिल्ला वार यशोसियसन सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र थिङ र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी प्रहरी निरीक्षक नवराज सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । २७ गतेसम्म चल्ने कार्यक्रम प्रत्येक वडामा सँचालन हुनेछ ।
गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधि, शिक्षक,विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधी, महिला स्वास्थ्य स्वयमसेविका , आमा समूहका प्रतिनिधी संघसंस्थाका प्रतिनिधि, गाउँपालिकाको कर्मचारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको । गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख देवी काफ्लेले सञ्चालन गर्नुभएको थियो भने स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र लाल श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो ।