लागु औषध नियन्त्रणमा प्रहरीको सक्रियता पछिल्लो समय बढ्दै गइरहेको छ । ‘विगतको भन्दा प्रहरीको सक्रियता बढ्दो छ ।’ केही प्रकरणमा अनुसन्धान गर्न चुकेको आरोप खेप्न बाध्य नेपाल प्रहरीको साख पछिल्लो समय वढ्दै गएको छ ।
२० हजार ८ सय १५ क्याप्सुल नियन्त्रित औषध सहित ५ जनालाई विभिन्न मिति र ठाउँबाट लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं सिफल बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका–१ ठेगाना भएको २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौं गोकर्णेश्वर बस्ने बझाङ चैनपुर नगरपालिका–८ ठेगाना भएको २९ वर्षीय उमेश कुमार केसी, काठमाडौं चाबहिलस्थित कल्याणकारी मेडिकल हलका संचालक संखुवासभा पाँचखपन गाउँपालिका–७ ठेगाना भएका ३० वर्षीय पेम्वा शेर्पा, नुवाकोट म्यगङ गाउँपालिका–५ ठेगाना भएको ३४ वर्षीय राजाराम दवाडी र काठमाडौं टोखा बस्ने लमजुङ मध्यनेपाल नगरपालिका–१ ठेगाना भएको ३८ वर्षीय बद्रिनाथ पौडेल रहनुभएको छ ।
उहाँहरूमध्ये निमाबाट १ सय १५ ट्याब्लेट ट्रामाडोल र उमेशकुमारबाट २० हजार ७ सय क्याप्सुल ट्रामाडोल बरामद भएको छ । साथै पेम्वा शेर्पाबाट २ सय ९० ट्याब्लेट लोबाजाम, १ सय ५३ ट्याब्लेट लोरी, १ सय ट्याब्लेट निट्रेस्ट, ९० ट्याब्लेट जोलियुम, २ सय ७५ ट्याब्लेट कोडोट्याब, ३ सय ९० ट्याब्लेट क्लोजिप क्लोजिप, १४ ट्याब्लेट क्लोप्रियुम, ५ सय १८ ट्याब्लेट पाज, २ सय ८५ ट्याब्लेट क्लोनाज, ३० ट्याब्लेट स्टागन र ५० ट्याब्लेट कोफटाब बरामद भएको छ । राजारामबाट बा.११ च १०१४ नम्वरको भ्यानमा ल्याएको १ सय ८० ट्याब्लेट लेभोनोरजेस्ट्रेल, ९० ट्याब्लेट अन्वान्टेड लेभोनोरजेस्ट्रेल, ८ सय ५० थान सफ्टजेल क्याप्सुल, ६ सय ७२ ट्याब्लेट बर्थ स्पेसिङ पिल्स, ३० वटा ल्याबोडर्म, १ सय ८४ ट्याब्लेट जेनेग्रा, १ सय ६० ट्याब्लेट जेनेग्रा रेड र ९० ट्याब्लेट प्रेगौट किक तथा बद्रिनाथ पौडेलबाट नगद १ लाख ४० हजार रुपैयाँ बरामद भएको छ ।
उपत्यकामा नियन्त्रित लागूऔषध ट्रामाडोलको अबैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो तथा औषधी ब्यबस्था बिभाग बिजुलीबजारबाट खटिएको संयुक्त टोलीले उहाँहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बरामद औषधी, सवारी साधन र नगद सहित उहाँहरूलाई आबश्यक कानुनी कारबाहीको लागि औषधी ब्यबस्था बिभाग बिजुली बजार पठाईएको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।
त्यसैगरी स्याङ्जा, कालिगण्डकी गाउँपालिका–५ जयपतेबाट सोही ठाउँ बस्ने २१ वर्षीय सुमित बिक र गल्याङ नगरपालिका–२ गराङदी बस्ने २२ वर्षीय असिम बिकलाई अवैध लागूऔषध १ केजी ७ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लु.५२ प ५२११ नम्बरको मोटरसाइकलमा सवार उहाँहरूलाई ईलाका प्रहरी कार्यालय जयपतेबाट खटिएको प्रहरीले चाँज गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका–४ हरियाली नगर बस्ने ३६ वर्षीय सन्तोष तुलाचन र सोही ठाउँ बस्ने २३ वर्षीय सुरज रजाली मगरलाई नियन्त्रित लागूऔषध १ हजार ९ सय २७ एम्पुल प्रोक्सिमेड स्पास, २३ एम्पुल नाईट्राभेट, कोडिवेल लेखेको १ सय एमएलको १ सिसि, कोडिन फस्फेट लेखेको १ सय एमएलको १ सिसि, ५० ग्राम गाँजा र नगद ११ हजार १ सय १५ रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सन्तोषको घरमा लागूऔषध राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध फेला पारी उहाँहरूलाई पक्राउ गरेको हो ।
त्यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका–१० साथी कृष्ण कटेज नजिकबाट जानकी गाउँपालिका–२ बस्ने २८ वर्षीय पारसमणि बर्मा र २६ वर्षीय ओम प्रकाश वर्मालाई २० ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उहाँहरूको साथबाट प्लाष्टिकमा लुकाई राखेको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
