सिन्धुपाल्चोकमा यही पुस २३ गते हुने नेकपा एमालेको ९ औँ जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । वडादेखि नगर, जिल्ला तथा केन्द्रसम्मको ध्यान जिल्ला अधिवेशनमा छ । तर आम कार्यकर्ता भने ‘पर्ख र हेर’को रणनीतिमा छन् ।
अधिवेसन सम्पन्न गराउन एमाले सिन्धुपाल्चोकले ५ सय ८५ जनाको आयोजक कमिटी बनाएको छ । अधिवेशनबाट १ सय ५ सदस्यीय जिल्ला कमिटी बन्नेछ । ५ सय ८५ बाट १ सय ५ सदस्यीय कमिटी बनाउन एमालेलाई सजिलो छैन । त्यसमाथि ३३ प्रतिशत महिलासँगै दलित तथा जनजातिलाई व्यवस्थापन गर्नुपर्ने चुनौती पनि एमालेलाई छ । सुभाष कर्माचार्यले पार्टी परित्याग गरेसँगै ठूलो संख्यामा नेता कार्यकर्ता खुल्न सकेका छैनन् ।
अब बन्ने कमिटीमा आबद्ध रहने संख्याको ५० प्रतिशत सदस्य र असन्तुष्ट रहेका सिङ्गै टिमलाई बोकेर समाजवादीमा प्रवेश गर्ने दाउमा कर्माचार्य रहेको उहाँ निकट एक नेताको दाबी छ । ती नेताका अनुसार पुरानो तथा युवापुस्ताको प्रतिनिधित्व गर्ने युवाहरू र कर्माचार्यका समकालीन नेताहरूलेसमेत उहाँलाई साथ दिदैँछन । १२ वटै पालिकामा राम्रो पकड भएका कर्माचार्यले अधिकांश जनप्रतिनिधिसहित झण्डै आधा एमाले फुटाएर लैजाने उहाँको दाबी छ ।
जिल्लामा पार्टीको अवस्था बिग्रिने अवस्था आएपछि स्थायी समिति सदस्य शेरबहादुर तामाङलाई तनाब थपिएको छ । तामाङ र कर्माचार्यको एउटै निर्वाचन क्षेत्र हो । कर्माचार्यले पार्टीभित्र ‘भुईचालो’ ल्याउने देखिएपछि नेता कार्यकर्ता तथा अध्यक्ष केपी शर्मा ओली समेतले प्रष्टिकरण लिन थालेको स्रोत बताउँछ ।
०७४ सालको निर्वाचनमा आफू निर्वाचित क्षेत्र साविक (निर्वाचन क्षेत्र नम्बर ३) बाट राप्रपाका पशुपति शम्सेर राणाभन्दा कम मत ल्याउनुभएका तामाङ कर्माचार्यकै क्षेत्रबाट अध्याधिक मत आएपछि निर्वाचित हुनुभएको थियो ।
९औँ राष्ट्रिय महाधिवेशनबाट पार्टी आन्तरिक जीवनमा प्रतिद्वन्द्विका रूपमा स्थापित तामाङ र कर्माचार्यको कलह दशौँ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा कित्तामात्रै अलग भएको छैन पार्टीसमेत फरक हुने देखिएको छ । कर्माचार्यलाई केन्द्रीय सदस्यको रिङबाट आउट गराउन तामाङ समूह लागेको उहाँहरूको दाबी छ । ओलीनिकट मानिएका सिन्धुपाल्चोकका अन्य नेताहरूले समेत उहाँको साथ छाड्ने देखेपछि तामाङमाथि दबाब बढेको हो ।
नेकपा एमालेको आसन्न ९औँ जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि निकै सकस परेको छ । जिल्ला नेतृत्वको लागि दाबी गर्नेहरूको संख्या बढेपछि ओली समूहलाई पनि नेतृत्व छान्न सकस परेको हो । जिल्ला अध्यक्षमा आयोजक कमिटीका सहसंयोजक बालकृष्ण देउजा, निवर्तमान कमिटीका सचिव कमल नेपाल, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री, गाउँपालिका महासँका अध्यक्ष होम नारायण श्रेष्ठलगायतले दाबी गर्नुभएको छ ।
नेता तामाङ र अर्का नेता सरेश नेपालले दश बुँदे पक्षधर कमल नेपाललाई नेतृत्व प्रदान गर्ने संकेत पाएपछि ओली पक्ष सशंकित बनेको छ । होम नारायण श्रेष्ठ र बालकृष्ण देउजा ओलीपक्षकै रहेता पनि नेता तामाङले दश बुँदे पक्षधरलाई ‘ग्रिन सिग्नल’ दिएकोमा सशंकित बनेको हो । यता श्रेष्ठ र देउजा फरक ढङ्गले टिम बनाएर अगाडि बढ्ने सोचमा हुनुहुन्छ ।
