सम्पर्क

चौधबुँदे प्रतिबद्धता–पत्र जारी गर्दै जलवायु परिवर्तन र प्रभावबारे छलफल सम्पन्न

जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति र स्थानीय जलवायु अनुकूलन तथा विपद् व्यवस्थापन समिति र मेलम्ची नरपालिकाको आयोजनामा ‘जलवायु परिवर्तन र यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रममा विज्ञहरुले जलवायु परिवर्तनले पारेका प्रभावबारेमा प्रस्तुति गरेका थिए । कार्यक्रममा डा. रञ्जनकुमार दाहालले जलवायु परिवर्तनले मेलम्ची क्षेत्रमा निम्त्याउने भूविपद्हरु र उत्थानशीलताका लागि चाल्नुपर्ने कदमहरुका बारेमा प्रस्तुति राख्नुभयो । उहाँले मेलम्ची मुहान क्षेत्रमा गर्नुभएको अध्ययनको निष्कर्षका साथ उत्थानशीलताका लागि चाल्नुपर्ने कदमबारे जानकारी गराउनुभयो । डा. धर्मराज उप्रेती, डा. रविनराज निरौला, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र अरुणभक्त श्रेष्ठले जलवायु परिवर्तनसम्बन्धी प्रस्तुति राख्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले गतसालकै पुनर्निर्माण नसकिएको बताउँदै यसपालि पनि थपिँदा चुनौती बढेको बताउँदै निर्माण कार्य सक्दो चाँडै सक्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले कार्यान्वयन गर्ने निकायका व्यक्तिहरुको उपस्थितिमा यस कार्यक्रम भएकाले यहाँका समस्या समाधान गर्न सबै आआफ्नो ठाउँबाट लागिपर्ने बताउनुभयो ।
मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर अर्यालले विज्ञ समूहको अध्ययन प्रतिवेदन आइनसकेकाले अहिले काम गर्न नसकिएको जानकारी दिँदै नगरको तहबाट सकिने काम भइरहेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले प्रथम गुफाडाँडा सम्मेलनले जारी गरेको दशबुँदे घोषणापत्रको समीक्षा गर्दै जलवायु परिवर्तनजस्तो जल्दोबल्दो विषय सिन्धुपाल्चोकले उठान गरी सतहत्तरै जिल्लामा पु¥याउन सफल भएको बताउनुभयो । उहाँले तेस्रो जलवायु सम्मेलन–२०७८ को १४ बुँदे प्रतिबद्धता प्रस्तुत गर्नुभयो । प्रतिबद्धता–पत्रमा मुख्यतः विश्वका विकसित तथा औद्योगिक मुलुकहरुबाट उत्सर्जन भएको हरित गृह ग्याँसका कारण बढ्दै गएको विश्व तापमानले नेपालमा रहेका हिमश्रृंखलाहरु अत्यन्तै जोखिममा रहेको हुँदा त्यसको संरक्षण गर्दै यसबाट परेको प्रभावहरुलाई न्यूनीकरण गरी मानव सभ्यताको अस्तित्वलाई संरक्षण गर्न विश्व समुदायको ध्यानाकर्षण गराउने, जलवायु परिवर्तनको कारण मेलम्ची, ईन्द्रावती तथा अन्य क्षेत्रमा आएको गेग्रान बहाबबाट मानव जनजीवन, विकासका संरचना र प्रकृति माथि गहिरो संकट देखा, यस परिस्थितिबाट सिर्जित प्राकृतिक तथा मानव संकटको सुरक्षाको लागि बाढीपहिरोबाट क्षति भएका भौतिक संरचनाहरुको विपद् उत्थानशील पुनर्निर्माण तथा पुनस्र्थापना गर्नसबै स रोकारवाला पक्षहरु प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
कृषि, वन र पर्यटनलाई जलवायु अनुकूल र विपद् उत्थानशील योजनामा समावेश गरी यसका माध्यमबाट विपद् प्रभावितहरुका लागि स्थानीय सीप र प्रविधिको प्रयोग गरी लैङ्गिक समतामा आधारित जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रमहरु तर्जुमा तथा कार्यान्वयन गर्न सबै सरोकारवाला पक्षहरु प्रतिबद्ध रहेको, स्थानीय, प्रदेश, संघीय सरकार, विकास साझेदार, गैरसरकारी संघसंस्था र निजी क्षेत्रमार्फत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र जलवायु अनुकूलनको राष्ट्रिय नीति अनुरुप स्थानीय जलवायु अनुकूलनका कार्यक्रमहरु संचालन गर्ने र जलवायु अनुकूलन र विपद् पूर्व तयारी, पूर्व सूचना प्रणाली तथा प्रतिकार्यको लागि तदानुसार स्थानीय नीति, योजना र मापदण्ड तयार गर्नुका साथै जलवायु विपद् कोषको व्यवस्था गर्न प्रतिबद्ध रहेको घोषणापत्रमा उल्लेख छ ।