सम्पर्क

पहिरो अध्ययनमा गएको एडीबी टोली हिउँमा फस्यो

ऋषिराम पौड्याल

काठमाडौँ — हेलम्बु क्षेत्रको हिमाली भेगको पहिरो अध्ययनका लागि मेलम्ची खोलाको उद्गमस्थल करिब ३६ सय मिटर उचाइमा बस्दै आएको एसियाली विकास बैंक (एडीबी)को विशेषज्ञहरूसहितको १६ जनाको टोली हिउँमा फसेको छ । हिउँ बाक्लिँदै गएर उनीहरू बस्दै आएको टेन्ट हिमपहिरोले बगाएको छ ।
हिउँबाट ज्यान जोगाउन उहाँहरू ओडारमा बसिरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । खराब मौसमका कारण उनीहरूको उद्धारका लागि हेलिकोप्टर जान सकेको छैन ।
टोलीका पथप्रदर्शक सोनाम लामाले बुधबार ३ बजेर ४ मिनेट जाँदा कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक संवाददाता कमला पाख्रिनलाई फोन गरेर आफू हिउँपहिरोबाट जोगिन पानीले भिजेर खुला चौरमा बसिरहेको जानकारी दिनुभएको छ । टेन्ट बगाएको, लगातार पानी र हिउँ परिरहेकाले आफूहरू उद्धारको प्रतीक्षामा रहेको उहाँले फोनमा बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा ६–७ फिट हिउँ परेको छ । अप्ठेरोमा परेको भन्दै उनले कुरा टुंग्याउन नपाउँदै फोन सम्पर्क टुटेको थियो ।

गत असार र साउनमा उक्त स्थानबाटै हिमपहिरो बगेर हेलम्बु र मेलम्ची क्षेत्रमा धनजनको ठूलो नोक्सानी गरेको थियो । पहिरोले मेलम्ची खानेपानीको मुहानलाई क्षति गरेकाले एडीबी टोली त्यसको अध्ययनका लागि एक साताअघि त्यता गएको थियो । एडीबी मेलम्ची आयोजनाको प्रमुख ऋणदाता हो ।

टोली हिउँमा फसेको जानकारी पाएपछि खानेपानी मन्त्रालयले रक्षा र गृह मन्त्रालयलाई उद्धारका लागि अनुरोध गरेको थियो । खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य वज्राचार्यले आफूले उद्धारका लागि रक्षा र गृहलाई अनुरोध गरेको बताउनुभयो । ‘रक्षा सचिवलाई उद्धारमा सहयोग गर्न भनेकी छु,’ उहाँले भन्नुभयो । हिमपातका कारण समस्यामा परेको टोली राति अबेरसम्म कुन अवस्थामा कसरी बसेका छन् भन्ने यकिन जानकारी नभएको उहाँले बताउनुभयो ।श्री एयरलाइन्सको हेलिकोप्टरबाट सबै जना बुधबार फर्कने तयारी गर्दैगर्दै अघिल्लो दिन रातिबाटै अचानक वर्षात् र हिउँ परेका कारण टोली रोकिएको थियो । टोलीमा सहयोगी, पथप्रदर्शक र सर्वेक्षकलगायत छन् । सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले आफूहरू उद्धारका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘सेनाको स्थानीय युनिट र सिन्धुपाल्चोक स्थानीय प्रशासनसँग समन्वय भइरहेको छ ।’ सेनालाई पनि उक्त स्थानमा जान दुई दिन लाग्ने भएकाले हेलिकोप्टरको विकल्प नभएको उहाँले बताउनुभयो ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मेलम्ची आयोजनासँग जोडिएको विषय भएकाले अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । ‘मौसम यसरी बिग्रेला भन्ने अनुमान गर्न नसक्दा तत्काल समस्या देखिएको छ,’ उहाँले भन्नुभयो । वर्षात्मा उक्त स्थानबाट आएको हिमपहिरो एकै स्थानमा जम्मा भएर भेमाथाङबाट ठूलो पहिरो गएको थियो । (कान्तिपुरबाट )