जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिको चौतारामा वैठक सम्पन्न भएको छ ।
गैरसरकारी सँस्था महासँघ सिन्धुपाल्चोकको समन्वय र जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समितीको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले समग्रमा जिल्लाको सरसफाइ अभियानलाई गति दिनका लागि छलफल हुन छाडेको धेरै भैसकेको बताउनुभयो । जिल्ला खुला दिसामुक्त घोषणा भएपछि साँचो अर्थमा समितिको बैठक बसेर जिल्लाको सरसफाई अवस्थाको समीक्षा हुन नसकेकोमा अधिकाँश सहभागीहरुले चिन्ता ब्यक्त गरेका छन् ।
जिल्लाभित्र सरसफाइ तथा स्वच्छताका समस्या नै निमिट्यान्न भएकोले समितिहरु निस्क्रिय भएका होइनन् । समस्याको स्वरुप र गहना बदलिएका छन्, स्थानीय तह र समुदायका प्राथमिकता फेरिएका छन् । समग्रमा, सबै जिल्लाभर नै सरसफाइ प्रवद्र्धनको जुन माहोल थियो, त्यो अहिले सेलाएर गएको बुझाइ जिल्ला तहका साझेदारहरुको समेत छ । “पहिले सरकोकारवाला भेट हुँदा होस् वा कोही जनप्रतिनिधि भेट हुँदा, सरसफाइ अभियान कहाँ पुगेको छ, कस्तो छ भन्ने कुराको सोधपुछ हुन्थ्यो”, खुल्ला दिसामुक्त अभियान सञ्चालन गर्दै आएको सामुदायीक विकास तथा वाताबरण सँरक्षण मञ्चका कार्यकारी निर्देशक तथा गैरसरकारी सँस्था महासँघका अध्यक्ष गोविन्द सापकोटाको भनाई भनाइ छ, “अहिले जनप्रतिनिधिसँग भेट हुँदा पनि सरसफाइ अभियान कहाँ पुग्यो भनेर सोधपुछ पनि हुँदैन ।”
एकातिर परिवेश सरसफाइ प्रवद्र्धनका लागि ऊर्जा दिनेखाले छैन, सेलाइरहेको छ । अर्कोतिर समस्या भने झनै बल्झिंदो छ । जिल्लाका स्थानीय तहहरुमा गरिएको पूर्ण सरसफाइ आधाररेखा सर्वेक्षणले चर्पी नहुने घरधुरीको संख्या निकै ठूलो देखाइरहेको छ । स्थानीय तहहरुमा न्यूनतम ५ प्रतिशतदेखि ४४ प्रतिशतसम्म घरधुरीमा शौचालयको पहुँच नभएको तथ्यांकले देखाउँछ । तर, ती प्रदेश सरकारको वार्षिक नीति कार्यक्रम र सम्बन्धित स्थानीय तहको बजेट हेर्दा, न स्थानीय तहमा रहेको सरसफाइको खाडललाई पुर्ने नीति कार्यक्रम तयार भएको छ, न त त्यसलाई भेटाउने बजेट व्यवस्था नै । “वास्तवमा, स्थानीय निर्वाचनताका सबै उम्मेदवारले व्यक्त गरेका चर्पी निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता, र हतारमा खुला दिसामुक्त घोषणा गरिएपछि सेलाएको माहोल अनि सुस्ताएका साझेदारका कारण सरसफाइ अभियान नै अब सकिएको हो कि भन्ने भान समुदायमा परिसकेको छ”,सापकोटाको धारणा छ, “यस्तो अवस्थामा जिल्ला तहका साझेदारहरु सक्रिय भएर सरसफाइ प्रवद्र्धनको माहौल बनाउनुपर्नेमा त्यो हुन सकेको छैन ।”
कार्यक्रममा मन्तब्य राख्दै ईन्द्रावती गाउँपालिकाको अध्यक्ष तथा गाउँपालिका महासँघका महासचिव बँशलाल तामाङले घरायसी चर्पीको सवालमात्र होइन, हातको स्वच्छता, महिनावारी स्वच्छता, ठोस तथा तरल फोहर व्यवस्थापन, चर्पीको दिसाजन्य लेदो व्यवस्थापन लगायतका सवाल घरायसी सरसफाइका सन्दर्भमा ज्यूँका त्यूँ रहेको बताउनुभयो । तामाङले “अब सरसफाइको कनेक्सन मानव स्वास्थ्य, जीविकोपार्जन र वातावरण संरक्षणसँग भएन भने सरसफाई अभियान पनि काम नलाग्ने बताउँदै अब सरसफाई अभियानका सूचकहरुको निक्र्योल गरी निर्दिष्ट रुपमा अभियानलाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो ।”
वैठकककै अवसर पारेर तेस्रो जलवायु दिवस तयारीका लागी विस्तारीत वैठक तथा गैर सरकारी सँस्था महासँघको केन्द्रमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम समेत गरिएको थियो । गैर सरकारी सँस्था महासँघको केन्द्रमा उप–महासचिवमा राजेन्द्र शर्मा र कोषाध्यक्षमा नानीमैया थापा निर्वाचित भएपछी उहाँहरुलाई सम्मान गरिएको हो । वैठकको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले गर्नुभएको थियो ।
