सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशको अध्यक्षसहित पदाधिकारी निर्वाचन प्रक्रियाबाट चुनिने भएको छ ।
जसमा सबै प्रतिनिधिले भोट हाल्न भने पाउनेछैनन् । कार्यसमिति सदस्यले मात्रै मतदानमा सहभागी जनाउन पाउने नेकपा माओवादी केन्द्र बागमती प्रदेश निर्वाचन कमिटीका सदस्य डीबी तामाङले जानकारी दिनुभयो ।
अन्तिम सहमतिका लागि अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा बैठक गरिएको थियो । सो बैठकलेसमेत सहमति जुटाउन नसकेपछि नेतृत्वका लागि निर्वाचन गर्नुपर्ने भएको हो ।
वाग्मतीको अध्यक्षका लागि सिन्धुपाल्चोकका सरलसहयात्री पौडेल, काभ्रेका दीनानाथ गौतम बीच प्रतिष्पर्धा हुने देखिएको छ ।
अध्यक्षका दाबेदार भक्तपुरका डिपी ढकालले सरल सहयात्रीलाई समर्थन गरेर ब्याक हट्नुभएको छ । अर्का दाबेदार विदुर खड्का कोषाध्यक्षमा उम्मेदवार बन्ने बताउनुभएको छ । उहाँहरूले छाडेसँगै सरल र दिनानाथबीच चुनाव हुने पक्कापक्की छ ।
कार्यसमिति यसअघि नै प्रतिनिधिबाट चयन भइसकेको छ । ‘२७५ जनाको कार्यसमिति छ, निर्वाचन हुने भएपछि मतदाता नामावलीमा यही कार्यसमितिको नाम हुनेछ,’ उहाँले भन्नुभयो ।
अध्यक्षसहित नौ जना पदाधिकारी निर्वाचनबाट चयन हुनेछ । प्रदेश कमिटीमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ जना रहेको पदाधिकारी छ ।
मंसिर २५ मा माओवादी केन्द्र बागमती प्रदेशको अधिवेशन काठमाडौंमा भएको थियो । त्यतिबेला नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि २७५ जनाको कार्यसमिति मात्रै चयन गरिएको हो ।
