

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको वडा नं. १२ को भिमटारमा रहेको भिमेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापकलाई मापसे प्रयोग गरेको कुटपिट गरेको भन्दै पठनपाठन अवरुद्ध पारिएको छ ।
विद्यालयले प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठमाथी विद्यालयभित्रै कुटपिट र ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गरी सुरक्षाको प्रत्याभूती नभएसम्मका लागी नियमित पठनपाठन बन्द हुने जानकारी गराएको छ । भिमटारको समिलटार बस्ने श्याम भनिने सन्तोष दनुवारले मादकपदार्थ सेवन गरी विद्यालय हाताभित्रै प्रवेश गरी कार्यकक्षमै रहेका प्रधानाध्यापक श्रेष्ठमाथी कुटपिट गरी आँखा , नाक र छातीमा चोट पुर्याएको विद्यालयद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । साथै प्रधानाध्यापक श्रेष्ठलाई ज्यान मार्ने धम्की दिदै दनुवारले टेवल , कुर्सी , ल्यापटप, प्रिन्टर लगायतका भौतिक सँरचनामा समेत क्षति पुर्याएको र विद्यालयका केही शिक्षकहरुले नछेकेको भए थप दुर्घटना हुने स्थिती निम्तिएको सुचनामा उल्लेख छ ।
तत्काल बसेको स्टाफ बैठकको निर्णयअनुसार कानुन बमोजिम आबश्यक कार्वाहीको लागी ईलाका प्रहरी कार्यालयमा निवेदन दिनुका साथै निजलाई कार्बाहीको प्रक्रिया अगाडी नवढ्दासम्म नियमित पठनपाठन बन्द गरिने सुचनामा उल्लेख गरिएको छ । विद्यालयको यस्तो निर्णयले ७ गतेबाट सञ्चालन हुने कोरोना विरुद्धको खोप कार्यक्रम र ८ गतेदेखी सञ्चालन हुन लागेको दोस्रो त्रैमासिक परिक्षा भने प्रभावित हुने विद्यालय स्रोतको भनाई छ ।
प्रध्यानाध्यापक कुटिएको विरोधमा नेपाल शिक्षक महासँघ ईन्द्रावती गाउँपालिका , नेपाल शिक्षक महासँघ सिन्धुपाल्चोक, नेपाल शिक्षक सँघ ईन्द्रावती गाउँपालिका लगायतले विज्ञप्ती जारी गर्दै दोषीमाथी कडा कार्वाहीको माग गरेका छन् ।
