देबराज सुबेदी कोशी प्रदेशमा रहेका युवा क्रिकेट प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्ने भएको छ। ग्रासरुट तहदेखि नै प्रतिभा पहिचान गरी उनीहरूलाई उचित अवसर र मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको दोस्रो संस्करण आयोजना गर्न लागिएको हो । विराटनगर किङ्सले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १ देखि ५ गतेसम्म (सेप्टेम्बर १७ देखि २१, २०२६) सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेश क्रिकेट संघअन्तर्गतका पाँच जिल्लाका युवा क्रिकेट खेलाडीबीच टी–२० फर्म्याटमा मेरीलेबोन विराटनगर ज्वाला क्रिकेट मैदान, विराटनगर–६ मा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामार्फत विभिन्न जिल्लामा रहेका प्रतिभाशाली युवा खेलाडीलाई एउटै प्लेटफर्ममा ल्याई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिने विराटनगर किङ्सका टिम म्यानेजर बिजय धितालले जानकारी दिनुभयो । ग्रासरुट तहबाटै क्रिकेट प्रतिभाको खोजी, विकास र भविष्य निर्माण गर्ने अभियानका रूपमा कार्यक्रमलाई अघि बढाइएको हो । ‘ड्रिम टु प्ले’ प्रतियोगिताको अर्को आकर्षण विराटनगर किङ्सको ‘आइकोनिक प्लेयर’ छनोट रहेको छ। प्रतियोगिताका क्रममा खेलाडीको प्रदर्शन, क्षमता, अनुशासन, क्रिकेटिङ स्किल तथा सम्भावनालाई मूल्याङ्कन गरी उत्कृष्ट प्रतिभामध्येबाट आइकोनिक प्लेयर छनोट गरिने जनाइएको छ । छनोट हुने खेलाडीलाई व्यावसायिक क्रिकेटतर्फ अघि बढ्न थप प्रेरणा र अवसर प्रदान गरिनेछ । विराटनगर किङ्सले हरेक प्रतिभासँग आफ्नो एउटा सपना हुने र त्यसलाई वास्तविकतामा बदल्न उचित अवसर आवश्यक पर्ने उल्लेख गर्दै ‘ड्रिम टु प्ले २०२६’ त्यही अवसर सिर्जना गर्ने महत्वपूर्ण कदम भएको जनाएको छ । कोशी प्रदेशका पाँच जिल्लाबाट सहभागी हुने युवा खेलाडीको प्रतिभा, प्रतिस्पर्धात्मक भावना र क्रिकेटप्रतिको समर्पणले कार्यक्रमलाई विशेष बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताले कोशी प्रदेशमा क्रिकेटको आधार तह अझ मजबुत बनाउन तथा नयाँ प्रतिभालाई व्यावसायिक क्रिकेटतर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ ।
Compose
Write to Devraj Subedi
