

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसर पारेर सिन्धुपाल्चोकमा विविध कार्यक्रमहरु गरिएको छ ।
जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको आयोजना तथा गैर सरकारी संस्था महासँघको समन्वयमा चौतारामा ७३ औं अन्तराष्ट्रीय मानव अधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन तथा अन्तर्क्रिया कार्यक्रम गरिएको छ । जिल्लामा रहेका गैर सरकारी सँस्थाहरुको सहकार्यमा भएको कार्यक्रममा ईन्सेक प्रतिनिधी नातिवावु धिताल, गैर सरकारी सँस्था महासँघका जिल्ला अध्यक्ष गोविन्द प्रसाद सापकोटा र एनसी नेपालका जिल्ला अध्यक्ष हर्क तामाङले मानवअधिकार उलँघन र महिला हिंसाको वर्तमान अबस्थावारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी कृष्णगोपाल तामाङले यस्ता अभियानहरु अभियानमा सिमित नभएर उपलब्धीमूलक हुनुपर्नेमा जोड दिनुभयो । तामाङले न्याय र समतामूलक समाज निर्माणका लागी सबै सरोकारवालाहरु सक्रिय हुँदा पनि सफल हुन नसकेको बताउँदै समाजको रँगिन आवरणलाई रँगिन बनाएर मात्रै हिंसा अन्त्य नहुने बताउनुभयो । मान्छेले अभिब्यक्त गर्ने दुई चिज हाँसो र आँसु भएकाले अब समाजलाई आँसुमा हैन हाँसोमा रुपान्तरण गर्न आबश्यक रहेको समेत तामाङले बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथी तथा प्रमुख जिल्ला अधिकारी वेधनिधी खनाललले नेपालकोे मानवअधिकारको अवस्था खासै सन्तोषजनक नरहेको वताउनुभयो । प्रजिअ खनालले महिला हिंसा रोक्न आफ्नो घरैबाट अभियानको थालनी गर्न आबश्यक रहेको समेत बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजन अधिकारीले सिन्धुपाल्चोकमा आर्थिक वर्ष ०७५÷०७६ मा १४४ , आर्थिक वर्ष ०७६÷०७७ मा १४८ र चालु आर्थिक वर्षमा ३२ वटा महिला हिंसाका घटना दर्ता भएको जानकारी दिनुभयो । महिला हिंसाका उजुरीमा घरेलु हिंसा, जर्वजस्ती करणीको घटना वढी रहेको समेत उहाँले जानकारी दिनुभयो ।
जुगल गाउँपालिकाको उपाध्यक्ष सृजना तामाङले वर्षेनी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरेको भएपनि यसको प्रभावकारीतामा ध्यान दिन आबश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समितिको उपप्रमुख बालकुमारी सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकै अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिकाले पनी छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । घरैबाट शुरु गरौं महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ गरिएको कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयको जिल्ला न्यायाधिवक्ता निमा घिमिरेले मानवअधिकार र महिला हिंसाको वर्तमान अबस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ, प्रमुख जिल्ला अधिकारी बेधनिधी खनाल, जिल्ला प्रहरी प्रमुख राजन अधिकारी लगायतले मन्तब्य राख्नुभएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाकाको उपमेयर जानुका पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
जुगल गाउँपालिकाले पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर विविध कार्यक्रम गरेको उपाध्यक्ष सृजना तामाङले जानकारी दिनुभयो ।
