बनेपा, १२ (काभ्रे): पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको छ । केही दिनअघि साँझको आरतीका क्रममा मूर्तिमा पसिना देखिएपछि क्षमा पूजा गरिएको वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभयो । पलाञ्चोक भगवती प्रसिद्ध शक्तिपीठ हुन् । यो मन्दिर पाँचखाल नगरपालिका–९ मा पर्छ । मन्दिरमा मूर्तिलाई स्नान गराई तान्त्रिक विधिअनुसार विशेष पूजाआजा तथा क्षमाप्रार्थना गरिएको हो । स्थानीय धार्मिक मान्यता तथा जनश्रुतिअनुसार पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आउनुलाई कुनै दैवी विपत्ति वा राजनीतिक सङ्कटको सङ्केतका रूपमा लिने गरिन्छ । स्थानीयका अनुसार २०७२ सालको भूकम्प, २०८१ सालको बाढीपहिरो तथा २०५८ सालको दरबार हत्याकाण्ड लगायतका घटनामा यस्तै सङ्केत देखिएको स्थानीयवासीले बताएका छन् । गत १० गते सुनकोसीमा आएको बाढीलाई स्थानीयले सोही दृष्टिले हेरेका छन् । क्षमा पूजामा पुजारीबाट गुप्त पूजा गरिएको थियो । -रासस
