सम्पर्क

केक काटेर ईन्द्रावती साना किसानको साधारणसभा सम्पन्न

इन्द्रावती गाउँपालिका वडा नं २ कुञ्चोक स्थित इन्द्रावती साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुञ्चोक जौडाँडामा रहेको महेन्द्र माध्यमिक विद्यालयको प्रांगणमा आयोजित चौथो साधारणसभाको उदघाटन नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद , पुर्व कानुनमन्त्री शेरबहादुर तामाङले चार वटै केक काटेर गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री तामाङले सहकारीको माध्यम बाटै समाजको आर्थिक र सामाजिक रुपान्तरण सम्भव हुने र समुदायले परम्परागत कृषि प्रणाली भन्दा माथि उठेर समयको माग बमोजिम आधुनिक पशुपालन तथा कृषि प्रविधिमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तामाङले सहकारी र स्थानीय कृषकहरुले समयानुकूल नयाँ तरिकाबाट आय आर्जनका कार्यक्रमको प्रस्तावना ल्याएमा माथिल्लो तहबाट अनुदान र बजेट व्यवस्थापन गर्न आफुले पहलकदमी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का जिल्ला अध्यक्ष झम्क नेपाल , जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङ , नेकपा (माओवादी केन्द्र) का नुनबहादुर सापकोटा (मनोज) , नेपाली कांग्रेसका बलराम गिरी , महेन्द्र माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर सुनार लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सुर्यमुखी साना किसान सहकारीका अध्यक्ष एवं एमाले नेता मित्रलाल चौलागाईले सहकारी सम्बन्धि प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
संस्थाका कोषाध्यक्ष भुपेन्द्र बानियाँले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थाका कुल शेयर सदस्य ६ सय २२ जना रहेका छन भने गत असार मसान्तसम्मको कुल चुक्ता शेयर पुँजी २३ लाख र कुल कारोबार १ करोड ३१ लाख रहेको छ । त्यसैगरी संस्थाको यस आ.व. को सञ्चालन नाफा करीब २ लाख ३२ हजार रहेको छ । संस्थाका अध्यक्ष रामशरण गिरीको सभापतित्व र सिताराम गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।