सम्पर्क

महिला हिंसा विरुद्ध चौतारामा बृहत साँस्कृतिक कार्यक्रम

रुपक पुरी

‘ घरैबाट शुरु गरौं । महिला हिंसा अन्त्य गरौं ।’ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा महिला हिंसा विरुद्ध बृहत साँस्कृतिक कार्यक्रम गरिएको छ ।
राजनीतिक दलका प्रमुख प्रतिनिधि, सरकारी गैरसरकारी सङ्घसंस्थाका प्रमुख, प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि एवम् सर्वसाधारणको सहभागिता रहेको र्‍यालीले चौतारा बजारको परिक्रमा गरेका थिए ।

“घरबाट सुरु गरौँ, महिला हिंसाको अन्त्य गरौँ”, “कुरा हैन काममा जुटौँ, महिला हिंसाको अन्त्य गरौँ” लगायतका नारासहित सुरु भएको र्‍यालीपछि चौतारा टुँडिखेलमा भएको संचेतनात्मक सांस्कृतिक कार्यक्रममा मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी वेधनिधी खनालले विगत ६० वर्षदेखी हेर्दा मात्रै पनी महिला हिंसा रोकथामका लागी कानुनी सँयन्त्रले फड्को मारेको बताउनुभयो । उहाँले घर–घरमा गएर लैंगिक हिंसा अन्त्य गर्न सबै जुट्नुपर्ने बताउँदै बच्चा पेटमा रहेदेखी सँरक्षण गर्दासम्म विभेद हुने गरेको बताउँनुभयो । उहाँले विभेदको अन्त्य गर्न घरबाटै अभियान चलाउनुपर्ने समेत बताउनुभयो

मन्तब्यकै क्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख जानुका पराजुलीले महिला हिंसा विरुद्धका कार्यक्रमहरु सदरमुकाममा मात्रै केन्द्रीत नगरेर ग्रामीण भेगमा समेत लैजान आबश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेको प्रतिनिधी सिता थापा , नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिकाका सभापति ईन्द्रलोचन धिताल , नेकपा माअ‍ेवादीका प्रतिनिधी सागर परियार, एकिकृत कमयुनिष्ट पार्टी समाजवादीका प्रतिनिधी सञ्जीव तामाङ, नगरस्तरिय महिला सञ्जालका अध्यक्ष मिना नेपाल लगायतले महिला हिंसा विरुद्ध ऐक्यवद्धता जनाउँदै मन्तब्य राख्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक राजन अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय कलाकारहरु लेखनाथ आचार्य, प्रतिमा अर्याल, प्रदिप रोक्का , बलवहादुर वाईवा, दिपक आचार्य, मुकुन्द सिम्खडा र सावित्री नेपालले महिला हिंसा विरुद्ध जनचेतनामुलक लोकदोहरी प्रस्तुतीमार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउनुभएको थियो ।
कार्यक्रममा महिला हिंसाविरुद्ध काम गरिरहेका सँघसँस्थाहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रशंसा पत्र प्राप्त गर्ने सँघसँस्थाहरुमा शक्ती समुह, नगरस्तरीय महिला सञ्जाल चौतारा, वडास्तरिय महिला सञ्जाल चौतारा, आदीवासी जनजाती महिला उत्थान केन्द्र चौतारा, शान्ती फाउन्डेसन चौतारा र चौतारा बृद्धाश्रम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रमका लागी चौतारा साँगाचोकगढी नगरपालिका, गोरख बक्स गण सिन्धुपाल्चोक, शसस्त्र प्रहरी बल नेपाल नं. १६ गण हे. क्वा. सिन्धुपाल्चोक, कर्मचारी मिलन केन्द्रचौतारा , निर्माण ब्यवसायी सँघ, महिला आत्म निर्भरता केन्द्र मेलम्ची, शान्ती फाउण्डेशन, फ्रिडम किट ब्याग सँस्था, सामुदायिक सारथी, राष्ट्र निर्माण मञ्च नेपाल जिल्ला शाखा चौतारा, उद्योग वाणिज्य संघ लगायतले सहकार्य गरेको प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको दिनबाट प्रहरीले जिल्लामा विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै आएको छ ।

लैङ्गिक हिंसा विरुद्ध प्रभात फेरी, सरोकारवालाहरुबीच अन्तरक्रिया, समुदाय र विद्यालय स्तरमा प्रशिक्षण, लैङ्गिक हिंसा विरुद्धका भिडियो प्रदर्शनी लगायतका संचेतनात्क कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।