सम्पर्क

मेलम्चीमा पहिलो पटक डेमो प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम दुर्गाको अध्यक्षतामा शाखा गठन

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा पहिलो पटक डेमो प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम भएको छ । क्याच एण्ड सर्व बल नेपालले देशभर संस्था विस्तार गर्ने उद्देश्यसहित यो कार्यक्रम मेलम्चीमा गरेको हो ।संस्थाको अध्यक्ष कदम्बरी श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख अतिथि तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा क्याच एण्ड सर्व बल खेलको परिचय, यसको महत्व तथा नेपालभर खेलको विकास र संस्थागत विस्तारका विषयमा जानकारी गराइएको थियो। सहभागीहरूलाई खेलको व्यावहारिक अभ्यास गराउन डेमो प्रदर्शनी समेत गरिएको थियो।
प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नयाँ तथा सिर्जनात्मक खेलकुद गतिविधिले जुनसुकै पुस्तामा अनुशासन, नेतृत्व क्षमता र स्वस्थ जीवनशैलीको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमलाई स्थानीय तहबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।उहाँले महिलालाई घर–परिवारको सीमित भूमिकाभन्दा बाहिर खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्नु आजको आवश्यकता भएको बताउनुभयो। नगर प्रमुख तामाङले मेलम्ची नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राख्दै महिला तथा युवाको प्रतिभा उजागर गर्न आवश्यक पूर्वाधार निर्माण, खेल सामग्री व्यवस्थापन, प्रशिक्षण तथा प्रतियोगिताको आयोजनामा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले खेलाडीहरूलाई राष्ट्रको गौरवका संवाहकको रूपमा सम्मान गर्दै उनीहरूको हौसला अभिवृद्धि गर्न स्थानीय सरकार सधैं प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो।
विशेष अतिथि पाँचपोखरी थाङपाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले खेलकुदलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै महिलाहरुको सहभागिता बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
संस्थाको अध्यक्ष कदम्बरी श्रेष्ठले क्याच एण्ड सर्व बल खेललाई विद्यालय, स्थानीय तह तथा समुदायस्तरसम्म विस्तार गर्दै राष्ट्रियस्तरमा लोकप्रिय खेलका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले आगामी दिनमा विभिन्न जिल्लामा प्रशिक्षण, प्रतियोगिता तथा संस्था विस्तारका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले नयाँ खेलप्रति जनचासो बढाउनुका साथै खेलकुद संस्कृतिको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको छ । कार्यक्रमको संयोजन संस्थाको सदस्य निरमाया तामाङले गर्नुभएको थियो।