सम्पर्क

मुलखर्कमा कानुनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक– नागरिकमा कानुनी ज्ञान र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका – ८ मुलखर्कस्थित श्री आदर्श विद्या मन्दिर आधारभूत विद्यालयमा कानुनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गयिरएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा प्रमुख अतिथि तथा वडा नं. ८ का वडा अध्यक्ष अमृत दङ्गाल विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले कानुनसम्बन्धी आधारभूत जानकारीका अभावले व्यक्तिलाई विभिन्न समस्या र अन्यायको सामना गर्न बाध्य बनाउने बताउनुभयो । उहाँले आफ्नो अधिकार, कर्तव्यप्रति सचेत नागरिक निर्माण गर्न विद्यालयस्तरबाटै कानुनी शिक्षाको पहुँच विस्तार गर्न आवश्यक रहेको धारणा राख्नुभयो । कानुनी चेतनाले समाजलाई जिम्मेवार, अनुशासित र न्यायपूर्ण दिशातर्फ अगाडि बढाउन महतवपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो ।
उहाँले बालबालिका राष्ट्रका भावी नागरिक भएकाले उनीहरूलाई बालअधिकार, शिक्षा, सुरक्षा तथा सामाजिक उत्तरदायित्वबारे समयमै जानकारी गराउनुपर्ने बताउनुभयो । कानुनी ज्ञानले व्यक्तिलाई सही र गलत छुट्याउन तथा जिममेवार व्यवहार गर्न प्रेरित गर्ने उहाँको भनाई थियो कार्यक्रमका विशेष अतिथि वडा अध्यक्ष अमृत दङ्गालले कानुनी सचेतनाका अभावमा समाजमा विभिन्न प्रकारका हिंसा, विभेद तथा अन्य सामाजिक विकृति मौलाउँदै जाने भएकाले यस्तो कार्यक्रमको आवश्यक्ता अझ बढेको बताउनुभयो । कानुनको जानकारीले नागरिकलाई आफ्ना अधिकारको संरक्षणका साथै कर्तव्य प्रति जिम्मेवार बनाउने उहाँले उल्लेख गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा नेपालको संविधानले सुनिश्चित गरेका मौलिक अधिकार, बालअधिकार, लैङ्गिक समानता, नागरिक कर्तव्य, सामाजिक न्याय तथा कानुनी प्रक्रियाका विषयमा जानकारी प्रदान गरिएको थियो । साथै, बालविवाह, घरेलु हिंसा, लैङ्गिक विभेद, बालश्रम, साइबर अपराध तथा अन्य सामाजिक अपराधहरूका विषयमा समेत छलफल गरिएको थियो ।सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट कानुनी अधिकार, सामाजिक जिम्मेवारी तथा आत्मसुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका थिए । अभिभावक तथा स्थानीयवासीले पनि यस्ता कार्यक्रमले समुदायमा सकरातम सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत निरनतर सञ्चालन गर्नुपर्ने बताएका थिए । विद्यालय प्रशासनले विद्यार्थीहरुको शैक्षिक विकाससँगै नैतिक, सामाजिक तथा व्यवहारिक पक्षको विकासमा समेत जोड दिँदै यस्ता जीवनोपयोगी कार्येक्रमलाई निरन्तरता दिने जनाएको छ । कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण अतिथि, प्रशिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय समुदाय तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको थियो । सहभागीहरूले कानुनी सचेतना विस्तार गर्ने यस्ता गतिविधिले जिम्मेवार नागरिक तथा न्यायपूर्ण समाज स्थापना गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।