
सिन्धुपाल्चोको ईन्द्रावती गाउँपालिकावासीलाई सेवा सुविधा दिन गाउँकार्यपालिकाको कार्यालयमा भु–सेवा केन्द्र स्थापना गरिने भएको छ । केन्द्र सञ्चालनका लागी सोमबार अनुमति पत्र प्राप्त गरिएको गाउँपालिका अध्यक्ष बँशलाल तामाङले जानकारी दिनुभयो ।
केन्द्रबाट जग्गा राजीनामा, अंशबन्डा, नामसारी लगायतका जग्गा प्रशासन सम्बन्धी लिखत तयार पारिने छ । र उक्त लिखत मालपोत कार्यालय कुस्मामा पठाइने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बताउनुभयो । स्थानीय तहबाट भु सेवा केन्द्र स्थापना गरी सेवा दिने ईन्द्रावती तेस्रो स्थानीय तह भएको छ । यसअघि पाँचपोखरी गाउँपालिका र जुगल गाउँपालिकाले अनुमति लिईसकेको छ ।
केन्द्र स्थापना भएपछि कारोबार गर्न चाहेको विवरण भरी आबस्यक कागजपत्र अपलोड गर्ने अनि लिखत प्रिन्ट गरी सहीछाप सहित सेवाग्राहीलाई मालपोत कार्यालय पठाउने , कारोवारको व्यहोरा अनलाइनमा इन्ट्री गर्ने , कागज पत्र अपलोड गर्ने ल्याप्चे,फोटो अपलोड गर्ने, प्रिन्ट गर्ने अनि पुर्जा प्रिन्ट गरी मालपोत हाकिमबाट सहीछाप गराई सेवाग्राहीलाई सेवा केन्द्र बाट नै पुर्जा उपलब्ध गराइने व्यवस्था गरिने गाउँपालिकाका कर्मचारी अनिल चौलागाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार मालपोत ऐन २०३४ संशोधन गरी मालपोत अधिकृतले गर्ने कामकाज प्रमुख प्रशासकीय अधिकृतले गर्ने व्यवस्था भएपछि लालपुर्जा को सबै काम स्थानीय तहबाट हुने भएको हो ।
