सम्पर्क

राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी सचेतना कार्यक्रम सिन्धुपाल्चोकमा सम्पन्न

राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी सचेतना कार्यक्रम सिन्धुपाल्चोकमा सम्पन्न सिन्धुपाल्चोक — राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालन हुन लागेको राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी जिल्ला स्तरीय सचेतना गोष्ठी, अन्तरक्रिया तथा छलफल कार्यक्रम सिन्धुपाल्चोकमा सम्पन्न भएको छ। कार्यक्रममा आर्थिक गणनाको उद्देश्य, तथ्याङ्क सङ्कलन विधि, गणनामा समावेश गरिने क्षेत्रहरू तथा यसको महत्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई आर्थिक गणनाले देशको आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्न सहयोग गर्ने र नीति निर्माणमा महत्व पूर्ण आधार बन्ने विषयमा जानकारी गराइएको थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार “अर्थतन्त्र सशक्तिकरणका लागि आर्थिक गणना” भन्ने नारासहित सञ्चालन हुन लागेको यस गणनामा देशभरका सबै प्रकारका आर्थिक गतिविधिमा संलग्न औपचारिक तथा अनौपचारिक प्रतिष्ठानरव्यवसायहरू समेटिनेछन्। गणनामा कृषि, वन तथा माछापालन, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत, ग्यास तथा पानी आपूर्ति, निर्माण, व्यापार, यातायात, होटल तथा रेष्टुरेन्ट, सूचना तथा सञ्चार, वित्तीय सेवा, शिक्षा, स्वास्थ्य, कला, मनोरञ्जन लगायतका विविध क्षेत्रहरू समावेश गरिने जानकारी दिइयो। त्यसैगरी, गणनाबाट प्राप्त तथ्याङ्कले राष्ट्रिय तथा स्थानीय तहमा नीति निर्माण, विकास योजना तर्जुमा, रोजगारी अवस्था विश्लेषण, लगानी प्रवर्द्धन तथा आर्थिक गतिविधिको यथार्थ मूल्याङ्कनमा महत्वपूर्ण योगदान पुर्याउने बताइएको छ। कार्यक्रममा सहभागीहरूले आर्थिक गणनामा सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिँदै विश्वसनीय तथ्याङ्क सङ्कलनका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए। राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८२ साल वैशाख २ गतेदेखि २०८३ साल असार ७ गतेसम्म देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिने जनाएको छ।