मतदान केन्द्र तथा मतदानस्थलको सङ्ख्या वृद्धि, अतिसंवेदनशील तथा विकट भूभागमा रहेका केन्द्रहरू र विविध राजनीतिक गतिविधिका कारण सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण देखिए पनि प्रहरीले तयारीलाई सुदृढ बनाएको सुरक्षा विज्ञहरू बताउँछन् । प्रहरी प्रधान कार्यालयका अनुसार अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएका मतदानस्थलमा सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । न्यूनतम स्रोत, साधनको अधिकतम उपयोग गर्दै देशभरका मतदान केन्द्रहरूमा आवश्यक जनशक्ति खटाइएको छ । कतिपय दुर्गम क्षेत्रमा सवारीसाधनको अभावका बाबजुद सुरक्षाकर्मी पैदल गस्तीमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पुराना हतियार तथा सवारीसाधनका सीमितताबीच पनि उच्च मनोबलका साथ प्रहरी परिचालन हुनु सङ्गठनात्मक दृढताको उदाहरण भएको सुरक्षा विश्लेषकहरूको भनाइ छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले वरिष्ठ प्रहरी अधिकृतहरूलाई समेत प्रत्यक्ष रूपमा मतदानस्थलमा खटाइएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)स्तरको कमाण्ड संरचनामार्फत प्रदेश तथा विशेष क्षेत्रको समन्वय गरिएको छ भने जिल्लामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा एकीकृत सुरक्षा संयन्त्र परिचालित गरिएको छ । जेनजी आन्दोलनपछि खस्किएको प्रहरी मनोबल पुनः उकास्नु नेतृत्वका लागि चुनौतीपूर्ण भए पनि वर्तमान नेतृत्वले सङ्गठनलाई पुनः क्रियाशील र एकताबद्ध बनाउन सफल भएको सुरक्षा क्षेत्रका जानकारहरू बताउँछन् । प्रहरी महानिरीक्षक कार्कीले आफ्नो कार्यकालको प्रारम्भिक १०० दिनमै सङ्गठनभित्र अनुशासन, समन्वय र समर्पणको भावना अभिवृद्धि गर्ने वातावरण निर्माण गर्नुभएको समाजशास्त्री शारदा बेलबासेले बताउनुभयो । वरिष्ठदेखि कनिष्ठ प्रहरीसम्म समान व्यवहार, सेवा सुविधा सुधार र राष्ट्रसेवाप्रति प्रतिबद्धताको भावना विकास गर्न नेतृत्वले जोड दिएको बताइएको छ । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा सुरक्षा विश्लेषक उमेशचन्द्र रिजालले पछिल्लो चरणमा प्रहरीले जनताको पक्षमा गरेका काम सकारात्मक र विश्वसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिकूल राजनीतिक अवस्था, सुरक्षा चुनौती र सङ्गठनभित्रको मनोवैज्ञानिक दबाबका बीच पनि नेतृत्वले सङ्गठनलाई एकताबद्ध बनाउँदै निर्वाचन सुरक्षामा केन्द्रित गर्नु सुखद् सङ्केत हो ।” उहाँका अनुसार सङ्गठनका सदस्यहरू असमञ्जस र मनोवैज्ञानिक दबाबमा रहेका बेला नेतृत्वले देशव्यापी अनुगमन, प्रत्यक्ष उपस्थिति र निरन्तर निर्देशनमार्फत मनोबल उच्च बनाउने प्रयास गरेको देखिन्छ । “यस्तो अवस्थामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउनु नेपाल प्रहरीका लागि ठूलो परीक्षा हो”, उहाँले थप्नुभयो । संविधानका ज्ञाता वरिष्ठ अधिवक्ता शिव गौडेलले प्रहरी सङ्गठनले विगतका आन्दोलन र द्वन्द्वका कठिन चरणहरू पार गर्दै देश र जनताको सुरक्षामा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्नुभयो । उहाँका अनुसार नयाँ नेतृत्वसँगै सङ्गठन पुनः सशक्त रूपमा उभिनु सकारात्मक सङ्केत हो । प्रहरी प्रधान कार्यालयले पछिल्लो समय प्रविधिमैत्री सुरक्षा योजना, सूचना सङ्कलन प्रणाली सुदृढीकरण र आकस्मिक परिस्थितिको द्रुत प्रतिकारका लागि तयारीलाई प्राथमिकतामा राखिएको जनाएको छ । समय र परिस्थितिअनुसार सङ्गठनलाई परिमार्जन गर्दै लैजाने रणनीतिअनुसार प्रहरी अघि बढिरहेको दाबी गरिएको छ । देशभर एआइजी, एसएसपी तथा अन्य वरिष्ठ अधिकृतहरू प्रदेश र जिल्लामा खटिएर निर्वाचन सुरक्षामा सक्रिय रहेका छन् । उच्च मनोबल, स्पष्ट रणनीति र सङ्गठनात्मक एकताका साथ नेपाल प्रहरी लोकतान्त्रिक अभ्यासको संरक्षण र जनताको सुरक्षामा दृढतापूर्वक उभिएको सुरक्षा निकायको दाबी छ । निर्वाचनजस्तो संवेदनशील राष्ट्रिय कार्यलाई सफलतापूर्वक सम्पन्न गराउने दिशामा प्रहरी सङ्गठनले प्रतिकूल अवस्थालाई अवसरका रूपमा रूपान्तरण गर्दै आफ्नो दायित्व निर्वाह गरिरहेको निष्कर्ष सुरक्षा क्षेत्रका जानकारहरूको छ । यो अवस्थामा प्रहरीले देशको सुरक्षाको जिम्मेवारी सम्हालेर निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरीसँगको सम्बन्धमा अगाडि बढ्नु नेपाल प्रहरीको नेतृत्वको सबल पक्ष भएको जनकारहरू बताउँछन् । रासस