देबराज सुबेदी सिन्धुपाल्चोक । नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले चुनावी घरदैलो अभियानको क्रममा आज इन्द्रावती गाउँपालिका–८ अन्तर्गत गहते बस्तीबाट कार्यक्रमको औपचारिक सुरुवात गरेका छन् । घरदैलो अभियानका क्रममा स्थानीयवासीले बस्ती हुँदै मुख्य सडक जोड्ने बाटोको केही भाग मात्रै कालोपत्रे भएको र बाँकी भाग अझै कच्ची अवस्थामै रहेको गुनासो गरेका छन्। स्थानीयका अनुसार सडक कालोपत्रे हुन बाँकी रहेका कारण धुलो, हिलो र फोहोरको समस्याले दैनिक जीवन प्रभावित भइरहेको छ। विशेषगरी सवारी आवागमन, विद्यालय जाने विद्यार्थी तथा वृद्धवृद्धालाई आवतजावतमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन्। स्थानीयको गुनासो सुनेपछि उम्मेदवार तामाङले आफू स्पष्ट योजनासहित मतदाताको घरघरमा पुगेको बताउँदै यस प्रकारका समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै अधुरा पूर्वाधार योजनाहरू सम्पन्न गर्ने प्रतिवद्धता जनाउँदै आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन्। मङ्गलबारबाट इन्द्रावती गाउँपालिकामा चुनावी अभियान सुरु गरेका तामाङले पहिलो दिन वडा नम्बर ४ देखि ७ सम्मका विभिन्न बस्तीहरूमा पुगेर मतदाता भेटघाट तथा अन्तरक्रिया गरेका थिए। अभियानको दोस्रो चरणमा उनले आज वडा नम्बर ८ देखि १२ सम्मका विभिन्न वडाका मतदातासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । योजना अनुसार त्यसपछि वडा नम्बर १, २ र ३ नम्बरका मतदातासँग भेटघाट गर्दै चौतारा साँगाचोकगढी नगरपालिका प्रवेश गर्ने तयारी रहेको उम्मेदवार तामाङको सचिवालयले जनाएको छ । तामाङले हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका, मेलम्ची नगरपालिका तथा इन्द्रावती गाउँपालिकाका विभिन्न वडामा मतदाता भेटघाटको क्रममा प्राप्त गरेको माया र समर्थनले आफू उत्साहित भएको बताएका छन् । उनले वर्तमान चुनावी माहोल हेर्दा आफ्नो जित सुनिश्चित रहेको दाबीसमेत गरेका छन् ।
