सम्पर्क

निर्वाचन आचारसंहिता लागू

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू भएको छ । निर्वाचन आयोगले आइतबार रातिदेखि आचारसंहिता लागु गर्ने गरी निर्णय गरेको हो । राष्ट्रिय सभा निर्वाचनसमेतका लागि आचारसंहिता लागु गर्नुपर्ने अवस्थाका कारण साबिकभन्दा यो पटक केही छिटो आचारसंहिता लागु भएको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले आइतबार राति १२ बजेदेखि आचारसंहिता लागु गर्ने निर्णय भएको जानकारी दिनुभयो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको उहाँले बताउनुभयो । उहाँको अनुसार आचारसंहिता उल्लङ्घन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ दफा २३ बमोजिम एक लाख रुपियाँसम्म जरिबाना गर्न तथा उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै निर्वाचन कसुर मानिने कार्यको हकमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुने छ ।