सम्पर्क

सिन्धुपाल्चोकमा पहिरोमा परेर दुई बालिका बेपत्ता

बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज (बुधबार) पहिरोले पुरिँदा दुई बालिका बेपत्ता भएका छन् ।
आज साँझ करिब ४ः४५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेस्थित मामाघरतर्फ पैदल जाँदै गरेका ज्याङजेङ लामाकी छोरी करिब १७ वर्षीया फुलमाया लामा र उनकी पाँच वर्षीया बहिनी मनमाया लामा माथिबाट आएको लेदो सहितको पहिरोमा परेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थल सडकभन्दा तल ब्रह्मायणी नदी बगेको क्षेत्र हो। इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएर खोजतलास जारी राखिएको छ । तर हालसम्म दुवै बालिकाको अवस्थाबारे पत्ता लाग्न सकेको छैन ।
लगातार वर्षासँगै पहिरो खस्ने जोखिम बढेकाले सो क्षेत्रमा आवागमन गर्दा सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।