सम्पर्क

सिन्धुपाल्चोकमा ११ वर्षीया बालिका कुटपिट

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१ मा ११ वर्षीया कुनसाङ तामाङमाथि भएको अमानवीय कुटपिट घटनाले स्थानीय समुदायलाई आक्रोशित बनाएको छ ।

मोबाइल चोरी गरेको आरोप लगाउँदै छिमेकी रमेश श्रेष्ठ, उनकी पत्नी मंगली श्रेष्ठ र दुई छोराले बालिकामाथि तातो झिर, सिस्नो र कुटपिट गरेका थिए । बारम्बार निर्दोष भएको बताउँदा पनि लगातार पिटाइ सहन नसकी बालिकाले अन्ततः चोरी स्वीकार गर्न बाध्य भएको बताइएको छ ।
स्थानीयले गरिब परिवार भएकै कारण बालिकालाई अन्याय गरिएको आरोप लगाएका छन् । “बालमैत्री वडा” घोषणा गर्ने तयारी भइरहेका बेला यस्ता घटना हुनु विडम्बना भएको उनीहरूको टिप्पणी छ ।
पीडित बालिकाले आफ्नै बयानमा प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत रमेश श्रेष्ठ पनि प्रत्यक्ष संलग्न भएको उल्लेख गरेकी छिन् । कानुन रक्षकसँग सम्बन्धित व्यक्तिबाटै यस्तो अमानवीय व्यवहार हुनु समाजकै लागि शर्मनाक भएको स्थानीयको भनाइ छ ।
घटनापछि पीडितलाई स्वास्थ्य चौकी पुर्याइए पनि तत्काल सहयोग भएन । वडा कार्यालयले समेत जिम्मेवारी नलिई ‘जिल्ला जानु’ भन्दै पीडितलाई पन्छाएको आरोप छ ।
यस घटनाप्रति स्थानीयले गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कानुन बमोजिम कडा कारबाही गर्न माग गरेका छन् । पत्रकारमार्फत खबर पुगेपछि मात्र प्रहरीले हस्तक्षेप गरी आरोपी परिवारलाई नियन्त्रणमा लिएको जनाइएको छ ।