सम्पर्क

चौथो काव्य म्युजिक अवार्ड २०८२ भव्यतापूर्वक सम्पन्न

दिनेश भण्डारी

“गीत–सङ्गीत र साहित्यको संगम, अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ काव्य म्युजिक सेन्टर र दक्षिण काली अफसेट प्रेसको संयुक्त आयोजनामा चौथो काव्य म्युजिक अवार्ड २०८२ राजधानीमा भव्यतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रम नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा विशेष गरिमा र उत्साहका साथ आयोजना गरिएको हो । यस अवसरमा वरिष्ठ गीतकार तथा गायक घमेश दुलालको गीति–सङ्ग्रह ‘समुन्द्र पारी’ लोकार्पण गरिएको थियो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता कृष्ण मल्ल प्रमुख अतिथिको रूपमा उपस्थित रहनुहुन्थ्यो भने दक्षिण काली अफसेट प्रेसका अध्यक्ष टपेन्द्र केसीले सभापतित्व गर्नुभएको थियो । अवार्ड संयोजक रमेश श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको कुशल सञ्चालन दिपेन्द्र शाहीले गर्नुभएको थियो । कार्यक्रमको आयोजक टिममा काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्य, दक्षिण काली अफसेट प्रेसका सञ्चालक टपेन्द्र केसी, साथै अशिमकुमार कटुवाल, बिष्णु तामाङ, राजु बोहरा, शिभराम भण्डारी, जमुना आचार्य, सिन्धु पौडेल र रमेश श्रेष्ठजस्ता व्यक्तित्वहरू रहेका थिए । निर्णायक मण्डलीमा चर्चित गायिका सावित्री केसी, सुजता केसी, ख्यातिप्राप्त म्युजिक एरेन्जर रिदम कडेल, शिक्षाविद् यादब गिरी, चर्चित देउडा गायक तथा मोडल भुवन प्रकाश बडु, साथै लोकप्रिय बालगीत ‘पानी मुनी माछा’ का सङ्गीतकार उत्तम पौडेल सम्माननीय सदस्यका रूपमा संलग्न रहनुहुन्थ्यो। राष्ट्रिय गानपछि सहिदहरूप्रति एक मिनेट मौनधारण गर्दै कार्यक्रम सुरु गरिएको थियो ।
आरम्भमा घमेश दुलालको ‘समुन्द्र पारी’ गीति–सङ्ग्रह लोकार्पण गरिँदा सो सङ्ग्रहमा अभिनय गर्ने कलाकारहरूलाई कदरपत्र प्रदान गरिएको थियो र त्यसपछि विभिन्न विधाका अवार्ड तथा सम्मानपत्र वितरण कार्यक्रम सुरु गरिएको थियो। यस वर्ष वरिष्ठ गायक घमेश दुलाललाई “बर्ष गायक” तथा वरिष्ठ निर्देशक दिवाकर भण्डारी (सापटे काका) लाई “बर्ष निर्देशक” को सम्मान प्रदान गरिएको थियो । साथै विभिन्न श्रेणीमा उत्कृष्ट योगदान पु¥याउने कलाकार र स्रष्टाहरूलाई अवार्ड प्रदान गरियो । मुख्य पुरस्कार श्रेणीहरूमा पपुलर अफ द एयर गायिका सारदा रशाइली (जवानिमा बिताको पल मीठो), सर्वोत्तम गायिका कोपिला तामाङ (चमेरे), सर्वोत्तम लोक काठे गायिका (जुरी) प्रमिला घ्लान (तामाकोसी), सर्वोत्तम लोकदोहोरी गीत राजन भुजेल (मेरो जस्तो रगत छैन), सर्वोत्तम मोडर्न सङ्ग÷मोडल (पुरुष) बिजेन्द्र नौबागे (सारा हासो), सर्वोत्तम लोकदोहोरी गायक (काठे÷पुरुष) राजेश ढकाल (चालीस कटेसी), सर्वोत्तम लोकदोहोरी गायक (पश्चिमे) कृष्ण अधिकारी (खोली तरुम्ला), सर्वोत्तम चाडपर्व गीत (गायक) सिर्जन पुन (भन्छिन् मेरो राजा), सर्वोत्तम चाडपर्व गीत (गायिका) यमुना कार्की (दशैं आयो), सर्वोत्तम बाल गायिका लाक्पा डोमा शेर्पा (काफल पाक्यो बनै रमायो), सर्वोत्तम म्युजिक भिडियो भरत उदासी (पापी मान्छे), सर्वोत्तम म्युजिक भिडियो निर्देशक (महिला) पूजा ठकुरी (माछी भुल्यो), सर्वोत्तम भिडियो निर्देशक (पुरुष) शिशिर बुडाथोकी (फूलको डाली), सर्वोत्तम आधुनिक गायिका आशा लामा (ज्ञानमाला) तथा सर्वोत्तम भाषाभाषी गीत÷सङ्गीतकार रामकुमार पैडेल (सुनुवार गीत ‘गोतेङ्गा गोतेङ्गा’) रहेका छन्। साथै अमृता फाउन्डेसनलाई “सर्वोत्तम आधुनिक समाजसेवी संस्था”को सम्मान प्रदान गरिएको थियो र अन्य विधामा पनि विभिन्न प्रतिभाहरूलाई कदर गरियो। कार्यक्रममा गोगो जुत्ता घर, सुटमाला, लक्ष्मी सनराइज बैंक, नेपाल वायुसेवा, डाफे कपी, ॐ एनिमेन्ट, लुम्बिनी विकास बैंक, सचेतना नागरिक संस्था नेपाल, नेपाल बैंक, सेल्ट्रिक एजुकेयर, केटीएम स्पोर्ट जोन लगायतका संस्थाहरूले प्रायोजन गरेका थिए ।
त्यस्तै सामाना क्रियसनका अध्यक्ष सामना शाह र धनेश्वर फिल्म एभटाइजिङ्गका खमेस श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको थियो ।