सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत् आयोजनाको सुरुङ सोमबार सफलतापूर्वक ब्रेकथ्रु गरिएको छ ।इलेक्ट्रो पावर कम्पनीको लगानीमा अगाडि बढिरहेको यस आयोजनाले २०८० फागुनमा सुरुङ निर्माण सुरु गरेको थियो । करिब २.६३८ किलोमिटर लामो सुरुङ २.५ मिटर चौडाइ र उचाइको रहेको छ ।
सुरुङ निर्माणमा संलग्न भूगोल इन्फास्ट्रक्चर कम्पनीका अनुसार फिनिसिङ कार्य पूरा गर्न ६ देखि ८ महिना लाग्ने अनुमान छ ।
आयोजनाअन्तर्गत भोटेकोशी गाउँपालिका–३ र ४ मा बाँध तथा वडा नम्बर ५, चाकुमा विद्युत् गृह निर्माण भइरहेको छ । मुख्य लगानीकर्ता इलेक्ट्रो पावरका अध्यक्ष मोहनविक्रम कार्कीले आगामी फागुनसम्म आयोजना उत्पादनमा ल्याउने लक्ष्यसहित अन्य काम तीव्र गतिमा भइरहेको दिनुभएको छ ।
करिब ९ अर्ब ५६ करोडको लागत अनुमान गरिएको यस आयोजनामा सम्पूर्ण लगानी नेपाली पक्षको रहेको उहाँले बताउनुभयो ।
भोटेकोशी नदीमा आधारित यो तेस्रो जलविद्युत् आयोजना हो । हाल विदेशी लगानीमा बनेको पहिलो आयोजना मार्फत ४५ मेगावाट उत्पादन हुँदै आएको छ भने १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी आयोजना मंगलबारदेखि ट्रान्समिसन लाइन परीक्षणमा प्रवेश गरेको छ, जसले निकट भविष्यमा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ ।
यस्तै, मध्य भोटेकोशी पावर हाउसको तल्लो भागमा ४६ मेगावाट क्षमताको भोटेकोशी–५ आयोजना निर्माणको तयारी भइरहेको छ। इलेक्ट्रो पावर अध्यक्ष कार्की नेतृत्वको समूहले कालिका इनर्जी लिमिटेड खरिद गरेर उक्त आयोजना बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा निर्माण गर्ने योजना अघि बढाएको छ ।

