काठमाडौं
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न यातायात व्यवसायी र सरोकारवालाहरुलाई आह्वान गरेको छ । सोमबार जारी गरिएको विज्ञप्तिमा महासंघले हालको प्रणालीमा रहेका अव्यावहारिक प्रावधान संशोधन नगरेसम्म नम्बर प्लेट जडान नगर्न आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ,“सरकार र सरोकार पक्षबीच भएको छलफलमा देखिएका अव्यावहारिक बुँदाहरू सच्याइएन भने सार्वजनिक, पर्यटक, ढुवानी तथा निजी क्षेत्रसमेत सबै यातायात साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न हार्दिक अनुरोध गर्दछौं ।”
महासंघले जबर्जस्ती नम्बर प्लेट जडान गराउने प्रयास भएमा त्यसविरुद्ध विरोध र दबाबका कार्यक्रम चलाइने चेतावनी दिएको छ । यस्तै गतिविधिबाट हुने परिणामको जिम्मेवारी यातायात मन्त्रालय अन्तर्गतका निकायले लिनुपर्ने चेतावनी पनि दिइएको छ ।
महासंघको ठहरअनुसार, नेपाली भाषाको देवनागरी लिपि लोप हुने जोखिम, पूर्वाधार अभाव, र आर्थिक बोझका कारण यो निर्णय एकपक्षीय र राष्ट्रिय हितविपरीत रहेको छ । साथै, यो प्रणाली लागू भएमा नेपाली नागरिक र यातायात व्यवसायसम्बन्धी संवेदनशील विवरण विदेशी नियन्त्रकको हातमा जाने खतरा समेत महासंघले औंल्याएको छ ।
