सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हरितालिका तिज २०८२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।
नगरपालिकाको विशेष पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय समुदायदेखि विभिन्न तहका जनप्रतिनिधि, कलाकार, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री एवं सांसद माननीय मोहन बहादुर बस्नेत, विशेष अतिथि बाग्मती प्रदेश सभा सदस्य माननीय मसिना खड्का भण्डारी रहनुभएको थियो । त्यस्तै विभिन्न गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, समाजसेवी तथा स्थानीय प्रतिनिधिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण र भव्य बनाएको थियो ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो । राष्ट्रिय स्तरकी चर्चित गायिका ज्योती मगर, लोक गायक दिनेश भण्डारी, विष्णु बराल, विष्णु थापा, हास्य कलाकार शिव शंकर, सङ्गीता मगरलगायतका सात–आठ जना चर्चित कलाकारहरूले विविध विधाका गीत, संगीत र हास्य–व्यङ्ग्य प्रस्तुति राखेर दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रममा हास्य कलाकार जोहिन्दारको हास्यपिङ्गे प्रस्तुति दर्शकका लागि विशेष आकर्षण बनेको थियो ।
उहाँका हास्यपूर्ण तर सन्देशमूलक प्रस्तुतीहरूले उपस्थित दर्शकलाई मनोरञ्जन दिलाउनुका साथै सामाजिक सन्देशसमेत प्रवा
ह गरेको थियो । त्यसैगरी गायिका ज्योती मगरले आफ्नो प्रस्तुतीमार्फत महिला सशक्तिकरण र अधिकारका विषयमा प्रभावशाली सन्देश दिनुभएको थियो । उहाँले “म महिला वादी गायिका हुँ, महिलाको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी छु, महिलाको अधिकार र समानताका लागि म कहिल्यै पछि हट्दिन,” भन्दै समाजमा विद्यमान महिला हिंसाको विरोध गर्नुभएको थियो । कार्यक्रममा उहाँले आफ्ना लोकप्रिय तीज गीतहरूसँगै हास्य र नृत्यमय गीतहरू प्रस्तुत गरी उपस्थितलाई झुमाएकी थियो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद मोहन बहादुर बस्नेतले शुभकामना मन्तव्य दिँदै तीजलाई केवल महिलाको पर्व मात्र नभई सबै समुदायको साझा पर्वको रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पूर्वमा महिलाको पर्वको रूपमा मात्र बुझिने तीज अब सबैको पर्व बनेको छ । यसले समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकताको सन्देश दिन्छ ।”
त्यस अवसरमा उहाँले बाह्रबिसे हुँदै कालिन्चोक मन्दिरसम्म पुग्ने सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी पनि गराउनुभयो । उहाँका अनुसार हाल करिब तीन किलोमिटर ट्याक खोल्ने काम बाँकी रहेको र यो काम असोजभित्र सम्पन्न गरेर मङ्सिरसम्ममा सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यस सडक विस्तारले बाह्रबिसे हुँदै कर्थली, दोलङ्सा, खिम्साङ हुँदै कालिन्चोक मन्दिरसम्म सहज आवागमनको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा महिला र पुरुष दुवैको समान सहभागिता देखिनु उल्लेखनीय पक्ष रह्यो । स्थानीय स्वयंसेवी संस्था, विद्यालय र सामुदायिक समूहहरूको सहकार्यले कार्यक्रमलाई अझ व्यवस्थित र अनुशासित बनाएको थियो । कार्यक्रमको समापन बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतको सभाध्यक्षतामा गरिएको थियो । अन्त्यमा कलाकार, स्वयंसेवी, तथा क्षेमा देवी मावि र सावधान माविका विद्यार्थीहरूलाई मायाको चिनो र सम्मानपत्र प्रदान गर्दै धन्यवाद ज्ञापन गरिएको थियो ।

