नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुपाल्चोकले २६औं स्थापना दिवसको अवसरमा मंगलबार सदरमुकाम चौतारा टुँडिखेल (फल्चा)मा रक्तदान तथा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ६६ जनाले रक्तदान गरेका थिए, जसमा चौतारा कारागारका ९ जना कैदीबन्दीको समेत सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूको रक्त समूह परीक्षण पनि गरिएको थियो ।
प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटाले सामुदायिक सेवामा फोनिजको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सामाजिक ऐक्यबद्धता बढाउने बताउनुभयो । स्थापना दिवसको अवसरमा समाजसेवामा सक्रिय ‘सहयोगी हातहरू’ संस्थाका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरिएको थियो । रक्तदान कार्यक्रम ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोडान) जिल्ला शाखा, चौतारा साँगाचोकगढी नगरपालिका र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको सहआयोजनामा सम्पन्न भएको हो ।
