काठमाडौँ महानगरपालिकाले सडक दुर्घटनाको जोखिम कम गर्न साउन महिनादेखि आफ्ना मातहतका सडकहरूमा सडक सङ्केत चिह्न पुनःस्थापना गर्ने तयारी गरेको छ ।
सडक विभागसँगको सहकार्यमा मुख्य राजमार्ग बाहेकका क्षेत्रमा सङ्केत राख्ने र ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने कामपाको योजना छ । पहिले राखिएका चिह्न मेटिँदा दुर्घटना र अव्यवस्थाको समस्या देखिएको भन्दै अब सडक प्रयोगकर्तालाई सचेत बनाउने अभियान पनि सँगै सञ्चालन गरिने ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो । कामपाले स्कुले विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक क्लब गठन गरिरहेको छ । छानिएका विद्यार्थीलाई तालिम दिएर विद्यालयअगाडि सडक पार गराउन सहयोग गराउने योजना पनि अगाडि बढाइएको छ । यसै आर्थिक वर्षमा ट्राफिक कोन, डिभाइडर र टल्किने सङ्केतजस्ता सामग्री थपेर सुरक्षालाई प्रभावकारी बनाउने लक्ष्य रहेको कामपाले जनाएको छ ।
