सम्पर्क

तेक्वान्दो संघ–नेपाल सिन्धुपाल्चोकको नेतृत्वमा खड्का

तेक्वान्दो संघ–नेपाल सिन्धुपाल्चोकको नेतृत्वमा खड्कातेक्वान्दो प्रशिक्षक तथा पाँचौँ डान रोहिन्द्र विक्रम खड्काको अध्यक्षतामा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको सिन्धुपाल्चोक जिल्ला समिति गठन गरिएको छ ।
शनिबार सम्पन्न भेलामा केन्द्रीय अध्यक्ष महेश्वर फुयाँलको उपस्थितिमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। चार वर्षे कार्यकालका लागि गठित कार्यसमितिमा उपाध्यक्षमा प्रदीप तामाङ, सचिवमा कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रोजिना कार्की चयन हुनुभएको छ । यस्तै, सदस्यहरूमा बासुदेव भुजेल, मन्दिरा पहरी, राजीव कार्की, सुजन श्रेष्ठ र सूर्य खड्का रहेका छन् । नवगठित समितिले जिल्लामा तेक्वान्दो खेलको संरचनात्मक विस्तार र गुणस्तरीय प्रशिक्षणमार्फत नयाँ गति दिन प्रतिबद्धता जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले तेक्वान्दो मात्र नभई समग्र खेलकुदको प्रवद्र्धनमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । केन्द्रीय अध्यक्ष फुयाँलले राज्यले सबै खेलकुदलाई समान अवसर दिनुपर्नेमा जोड दिँदै स्थानीय तहको सहकार्यले जिल्लामा खेलकुदको वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष ईश्वर सापकोटाले खड्काको नेतृत्वमा समिति गठन हुनु जिल्लाको तेक्वान्दो इतिहासमा नयाँ अध्यायको सुरुआत भएको बताउनुभयो । उक्त अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ प्रदेश सभा ‘ख’ का सभापति देवेन्द्र खड्का, नेपाली कांग्रेस सुनकोशी गापा सभापति रूपकाजी लामा नेकपा एमाले सुनकोशी गापा कमिटी अध्यक्ष रामहरि खड्कालगायतले सङ्घको गतिविधि पारदर्शी र खेलकुदमय हुनुपर्नेमा जोड दिनुभयो ।