सिन्धुपाल्चोक जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । यहाँका १२ वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । शुक्रबार जिल्ला सदरमुकाम चौतारामा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेश, स्वास्थ्य मन्त्री किरण थापामगरले सिन्धुपाल्चोक जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको छ ।
प्रत्येक घरघरमा पुगेर पूर्ण खोप लगाएको तथ्याङ्क सङ्कलनपश्चात् जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बझगाईले जानकारी दिनुभयो । उहाँका अनुसार १६ महिनादेखि ५ वर्ष मुनिका २ हजार २ सय पचास जना बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएसँगै सिन्धुपाल्चोक जिल्ला ९ औँ पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासहितको जिल्ला बनेको छ ।
घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री मगरले कुनै पानि बालबालिकालाई खोप पाउने अधिकारबाट बञ्चित गराउनु नहुने बताउनुभयो । उहाँले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बाल मृत्युदर तथा अपांगताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने बताउनुभयो । सिन्धुपाल्चोकका सबै बालबालिकाहरूले खोप पाएको सुनिश्चिततासँगै खोप सुनिश्चित जिल्ला घोषणा भएकोमा जिल्लावासीलाई बधाई दिँदै उहाँले दिगोपनाका लागि मन्त्रालय सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवम् प्रदेश सांसद युवराज दुलाल शरद, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, चौतारा सााँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, त्रिपुरा सुन्दरी गाउँपालिका उपाध्यक्ष गीता नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्थानीय तहका खोप कार्यकर्ता तथा जनस्वास्थ्यकर्मी, विभिन्न सरकारी, गैरसरकारी कार्यालय प्रतिनिधि, स्वास्थ्यकर्मी, पालिका प्रमुख र महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा पूर्णखोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरिएको थियो ।
