मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकको एकताबाट मात्र सामुदायिक विद्यालयको गुणस्तर सुधार सम्भव हुने धारणा राख्नुभएको छ । मेलम्ची नगरपालिकाद्वारा आयोजित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुका लागि अभिभावक शिक्षा सम्बन्धि क्षमता विकास तालिमको समापन गर्दै प्रमुख तामाङले शैक्षिक क्षेत्रको सुधारका लागि नगरले प्रयाप्त बजेट विनियोजन गरेको बताउनु भएको हो । दुई दिन चलेको तालिममा नगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सहभागिता रहेको शिक्षा शाखाका अधिकृत सुदिनराज बुढाथोकीले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण अभिषेक घिमिरेले गर्नुभएको थियो ।
