सम्पर्क

मेलम्चीका विभिन्न स्थानमा बजार अनुगमन, एक मिठाई पसलमा सिल

उपभोक्ता हित संरक्षण मञ्च नेपाल मेलम्ची नगर समितिको अगुवाइमा मेलम्ची नगरपालिकाको टोलीले नगरका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ । दुई दिनसम्म चलेको अनुगमनमा नगरपालिकाका वडा नं. ६, ११ र १२ का खाद्यान्न पसल, होटल, मेडिकल, भेटेनरी, बेकरी, मिठाई पसल लगायतका व्यवसायहरूमा निरीक्षण गरिएको हो ।

अनुगमनका क्रममा सरसफाइ     नगरेको, नविकरण नगरेको र बिलबिजक नराखेको पाइएपछि नव दुर्गा स्वीट्स एण्ड चाट हाउसमा सिल गरिएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार नियमविपरीत व्यवसाय सञ्चालन गरेकाले पसललाई सिल गरेर दण्ड–जरिवाना समेत गरिएको छ । त्यस्तै, अनुगमनकै क्रममा म्याद सकिएका करिब ३५ हजार रुपैयाँ बराबरका सामग्री जफत गरी नष्ट गरिएको पनि दुलालले बताउनुभयो ।

बजार अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च, मेलम्ची नगरपालिका, जनप्रतिनिधि, मेलम्ची नगर उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल प्रहरी र सञ्चारकर्मीको सहभागिता रहेको थियो । यसअघि मञ्चले जेठ ५ गते सिन्धु भ्याली र ७ गते मेलम्चीमा स्थानीय उपभोक्ता, व्यवसायी र जनप्रतिनिधिलाई समेटेर उपभोक्ता सचेतना तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो ।

मञ्चका अध्यक्ष शालिकराम अधिकारीले उपभोक्ताले उपभोग गर्ने वस्तु र सेवाप्रति विशेष सावधानी अपनाउन आग्रह गर्दै उपभोक्ता सचेतना कार्यक्रमहरू निरन्तर चलाइरहेको जानकारी दिनुभयो ।