चौतारा साँगाचोकगढी नगरपालिकाले १८औं नगरसभा भव्य रुपमा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने प्रावधानअनुसार नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
नगर उपप्रमुख सीता थापाले चालु आर्थिक वर्षमा नगरपालिकाले सम्पन्न गरेका कार्यहरूबारे समग्र प्रतिवेदन प्रस्तुत गर्नुभयो । उपप्रमुख थापाले आर्थिक वर्ष २०८२/८३ को लागि १ अर्ब १६ करोड २८ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको हो । नगरसभाबाट प्रस्तुत बजेट समावेशी, सन्तुलित र नागरिकमुखी हुने दाबी गरिएको छ । नगर प्रमुख सापकोटाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, र विपद् व्यवस्थापनदेखि महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूसम्मलाई समेटेर बजेट निर्माण गरिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले बजेट स्थानीय आवश्यकता, वडास्तरका सुझाव, नीति तथा कार्यविधि र संविधानले स्थानीय सरकारलाई दिएको अधिकारको प्रयोग गरी बनाइएको बताउनुभयो । नगर कार्यपालिका सदस्यहरू, विभिन्न वडाका अध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, पत्रकार तथा सर्वसाधारणको उपस्थितिमा कार्यक्रम विशेष भव्य वातावरणमा सम्पन्न भएको थियो ।
नगरपालिकाले आगामी असार १२ गते पुनः नगरसभा बोलाउने निर्णय गरेको छ, जसमा बजेटलाई अन्तिम रूप दिइनेछ । यो समयावधिमा समावेश गरिएका कार्यक्रमहरूलाई कसरी प्राथमिकता दिइनेछ, कुन कार्य सुरुवातमा हुनेछन्, र त्यसको अनुगमन कसरी गरिनेछ भन्ने प्रश्नहरू नगर प्रमुखको दाबीभन्दा बढी महत्वपूर्ण बन्नेछन् ।
