पाँचपोखरी थाङपाल–६ स्थित श्री थाङपालधाप माध्यमिक विद्यालयमा विद्यालय स्तरीय अन्तर सदनात्मक सामूहिक नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ । “शारीरिक, मानसिक र सामाजिक विकासको मुल आधार– अतिरिक्त क्रीयाकलाप” भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमको अवसरमा जन्मोत्सव दानबाट २२ जना जेहेन्दार तथा आर्थिक रुपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ । जन्मदिनमा चकलेट वा अन्य फजुल खर्च हटाएर विद्यालयमा दान गर्ने संस्कारको थालनी गरिएको छ । यो संस्कार विद्यालयका शिक्षक नविन श्रेष्ठले मेलम्ची–७ स्थित ज्योति भञ्ज्याङ आधारभूत विद्यालयबाट सुरु गरेका थिए भने अहिले थाङपालधाप माविमा पनि निरन्तरता दिइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुदे वाइबाले जानकारी दिनुभयो ।
प्रधानाध्यापक आत्मराम दंगालका अनुसार कार्यक्रमको मुख्य उद्देश्य शिक्षक, विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित व्यक्तिहरूले जन्मोत्सवको अवसरमा दान बाकसमा रकम जम्मा गर्नु, सो रकमबाट अति जेहेन्दार, अनुशासित र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु तथा विद्यालयमा नियमित उपस्थितिको वातावरण बनाउनु हो। उहाँले यस अभियानले सहयोग र समुहिकताको भावना समेत विकास गराउने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका अनुसार यो बर्ष जन्मोत्सव दान बाकसमा रु. ४१,३२४ संकलन भएको छ । संकलित रकममध्येबाट २२ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो भने बाँकी रकम जन्मोत्सव कोषमा राखिएको जानकारी प्रधानाध्यापक दंगालले दिनुभयो । आजकै दिन जन्मदिन नभए पनि पूर्व विद्यार्थी तथा अभिभावकहरू रामजी धिताल, निशान्त धिताल, भुवलसिं चापागाईं, इश्वर धिताल, विकास बस्नेत र स्वयं प्रअ दंगालले पनि दान बाकसमा सहयोग गरेको विद्यालयले जनाएको छ ।
यस कार्यक्रम जिल्लाका धेरै विद्यालयले अनुसरण गरेका छन । सामूहिक नृत्य प्रतियोगितामा सिनियर तहमा एलो हाउस पहिलो, रेड हाउस दोस्रो र ब्लु हाउस तेस्रो, तथा जुनियर तहमा पनि एलो हाउस पहिलो, रेड दोस्रो र ब्लु तेस्रो स्थानमा रहेका छन् । कार्यक्रमका निर्णायक शिक्षक शेरबहादुर तामाङ रहनुभएको शिक्षक राजन काफ्लेले जानकारी दिनुभयो ।
