सम्पर्क

चौतारामा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न

चौतारा
विश्व रक्तदाता दिवसको अवसरमा शनिबार श्रीकृष्ण मन्दिर परिसर, पुरानो बजारमा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ६९ जना विभिन्न उमेर समूहका व्यक्तिहरूले रक्त समूह परीक्षण गराएका छन् । कार्यक्रम जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आर्थिक सहयोगमा, नेपाल रेडक्रस सोसाइटी, चौतारा रक्तसंचार सेवा केन्द्रको समन्वयमा र ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोडान) सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख उद्देश्यहरूमा जनस्वास्थ्यको सुदृढीकरण र व्यक्तिगत स्वास्थ्य सचेतना अभिवृद्धि रहेको थियो । रक्त समूहको पहिचान स्वास्थ्य सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण हुने भएकाले यस्ता कार्यक्रमले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । आपतकालीन अवस्थामा, जस्तै दुर्घटना वा शल्यक्रिया जस्ता परिस्थितिमा छिटो र प्रभावकारी उपचारको लागि रक्त समूहको जानकारी अत्यन्तै आवश्यक हुने जनाइएको छ ।
कार्यक्रममा ब्लोडान सिन्धुपाल्चोकका अध्यक्ष सुरेश कसजुले रक्त समूहको जानकारीले आफैं मात्र नभई समाजभर स्वास्थ्यप्रति चेतना फैलाउन मद्दत पुर्याउने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन समुदायको सक्रिय सहभागिता आवश्यक रहेको समेत उल्लेख गर्नुभयो । उक्त कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना फैलाउन र आपतकालीन अवस्थामा प्रभावकारी उपचारको लागि तयारी गर्न मद्दत पुर्याएको छ ।