काठमाडौँ ।
प्रेस काउन्सिल नेपालको रिक्त सदस्य पदमा हालै नियुक्त सदस्यहरूलाई काउन्सिलमा स्वागत गरिएको छ ।
काउन्सिल सभाहलमा भएको स्वागत कार्यक्रममा नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै मुख्य अधिकृत झबिन्द्र भुसालले नयाँ सदस्यहरूको कार्यकाल रचनात्मक र उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त सदस्यहरू कुमारी निमा काफ्ले (कञ्चनपुर), भीमलाल श्रेष्ठ (गोरखा), शन्तराम बिडारी (मकवानपुर), पदमराज जोशी (बैतडी), बालकृष्ण अधिकारी (धादिङ) र नकुल अर्याल (चितवन)लाई काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधि लगायत सामग्री हस्तान्तरण गर्दै नेपाल पत्रकार महासङ्घ अध्यक्ष एवं काउन्सिल सदस्य निर्मला शर्माले काउन्सिलको काम, कारबाही, भूमिका र आगामी कार्यनीतिबारे जानकारी हासिल गर्न सघाउने उल्लेख गर्नुभयो ।
नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै काउन्सिलका सदस्य विजयराज अधिकारी, केशवशरण लामिछानेले नयाँ सदस्यहरूसँगको सहकार्यबाट काउन्सिललाई गतिशील बनाउन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त सदस्यहरूले विद्यमान ऐन, कानुन र नीतिको अधिनमा रहेर प्रेस स्वतन्त्रताको संरक्षण गर्दै नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन, काउन्सिलको भूमिका अझै सशक्त र चलायमान गराउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले गत जेठ १२ र १९ गतेको मन्त्रीस्तरीय निर्णयबाट काउन्सिलको रिक्त सदस्य पदमा ६ जनालाई नियुक्त गरेको थियो । कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरासहित विभिन्न शाखाका प्रमुखले काउन्सिलका सदस्यहरूलाई बधाई एवं शुभकामना दिँदै उहाँहरूको कार्यकाल सफल बनाउन सचिवालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।यसैबिच स्वागत कार्यक्रमपश्चात पछिल्लो समय पत्रकार पक्राउ पुर्जी जारी भएको तथा प्रकाशित समाचार हटाउनका लागि अदालतले आदेश दिएको विषयमा गम्भीर छलफल भएको छ । छलफल पश्चात पत्रकारिता क्षेत्रमा विकसित घटनाक्रमबारे काउन्सिलले आजै आफ्नो धारणा सार्वजनिक गरेको छ । ।
