सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्थित नगर अस्पतालमा शनिबार आयोजित महिला पाठेघर र स्तन क्यान्सर स्क्रिनिङ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार महिला लाभान्वित भएका छन् । शिविर भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा साथी फाउन्डेसन नेपाल, बाह्रबिसे नगरपालिका र इलेक्ट्रो पावर कम्पनीको सहकार्यमा सञ्चालन गरिएको थियो । साथी फाउन्डेसन नेपालका अध्यक्ष तथा ने.बि.संघका पुर्ब महामन्त्री बलदेव तिमल्सिनाका अनुसार परीक्षण गरिएका एक हजारमध्ये करिब ३७० महिलाको नमुना परीक्षण लिइएको थियो । शिविरमा क्यान्सरका लक्षण लुकेर बसेका जोखिम समूह पहिचान गर्न सकिने अपेक्षा गरिएको छ ।
शिविरमा भक्तपुर क्यान्सर अस्पतालका नि. कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेसहितको स्वास्थ्यकर्मी टोलीले परीक्षण गरेका थिए । सहभागी महिलाहरूको सामान्य स्वास्थ्य परीक्षण, भिडियो एक्स–रे, स्तन र पाठेघर स्क्रिनिङ लगायतका सेवा दिइएको बाह्रबिसे नगर पालिकाका प्रबक्ता तथा वडा नं. ८ का अध्यक्ष बिमल पौडेलले जानकारी दिएका छन् । परीक्षणमा सहभागी ३७१ महिलामा विभिन्न किसिमका स्वास्थ्य समस्या पत्ता लागेका छन् भने ७ महिलामा पाठेघरसम्बन्धी गम्भीर समस्या देखिएकाले थप उपचारको सिफारिस गरिएको डा. चालिसेले जानकारी दिनुभयो ।
जटिल र उपचारमा महंगो रोग क्यान्सरको रोकथाम र उपचारको शिविर संचालन हुंदा ठुलो संख्यामा स्थानिय महिलाहरु प्रत्यक्ष लाभान्वित हुनपाउंनु नगरपालिकाका निम्ति ठुलो अबसर भएको भन्दै नगरपालिका उपप्रमुख मन्जु तामाङ्गले भक्तपुर क्यान्सर अस्पताल, साथी फाउण्डेशन नेपाल लगाएत सहयोगी सबैलाइ सम्मान सहित धन्यबाद ब्यक्त गर्नुभयो ।

