चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ मा अवस्थित श्री आदर्श विद्या मन्दिरमा अध्ययनरत विद्यार्थीहरुका लागि नेपाल किड्सका अध्यक्ष हरिशरण गिरीले निःशुल्क ट्याकसुट वितरण गर्नु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिर तामाङको पहलमा समाजसेवी हरिशरण गिरीले नेपाल किड्स संस्थाको तर्फबाट बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गरेका ६३ जना विद्यार्थीहरुलाई ट्याकसुट वितरण गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि वडा नं. ९ का वडा अध्यक्ष विमल श्रेष्ठले विद्यार्थीहरुलाई ट्याकसुट वितरण गर्नु भएकोमा समाजसेवी हरिशरण गिरीले गर्नुभएको सहयोगको प्रशंसा गर्नुभयो ।
उहाँले वडा भरिकै विद्यालयहरुमा विभिन्न किसिमको सहयोग गर्दै वडाको शैक्षिक सुधारमा हातेमालो गर्नुभएको पनि बताउनुभयो ।ट्याकसुट वितरण कार्यक्रमका पाल्नुभएका संस्थाका अध्यक्ष हरिशरण गिरी, उपाध्यक्ष शान्ति गिरी, सदस्यद्वय नारायण भट्टराई र भगवान गिरीलाई शिक्षक, विद्यार्थी र अभिभावकहरुले फुलमाला र दुवोको मालाले भव्य स्वागत गरिएका थिए भने विद्यालयका प्रधानाध्यापक झम्कबहादुर घलेले अतिथि ज्यूहरुलाई स्वागत गर्दै सहयोग गर्नुभएकोमा नेपाल किड्स संस्था परिवारप्रति हार्दिक आभार प्रकट गर्नुभयो । त्यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष भिमबहादुर तामाङले पनि सहयोगको लागि धन्यवाद मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमका सभापति समीर तामाङले ट्याकसुट वितरणसँगै विद्यालयसँग जोडिएको सम्बन्ध अटुट रहनुका साथै यहाँहरुले गर्नु भएको अतुलनीय सहयोग विद्यालयले सम्झिरहने प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनमा पनि विद्यालयलाई पर्ने आवश्यक सहयोगका लागि अपेक्षा रहेको बताउदै विद्यार्थीहरुको लागि ट्याकसुट वितरण गर्नु भएकोमा सहयोगी संस्थाका अध्यक्ष लगायत सम्पूर्णमा धन्यवाद दिदै कार्यक्रमको समापन गरिएको थियो । संस्थाका अध्यक्ष गिरीले आफ्नो जन्मथलोमा रहेको वडाकै जेष्ठ विद्यालय श्री कालीदेवी माध्यमिक विद्यालयमा समेत बालविकास देखि कक्षा १२ सम्म अध्ययन गर्ने करिब २०० जना विद्यार्थीहरुका लागि ट्याकसुट वितरण गर्नु भएको हो ।
