सम्पर्क

तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा रहेको महिला विभागले गर्‍यो दाजुभाई सम्मान तथा भेटघाट

दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
कतारवासी तमूहरुको साझा संस्था तमू (गुरुङ) समाजको संरक्षकत्वमा स्थापित महिला विभागले शुक्रबार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समाजको महिला विभागका संयोजक तिलमाया गुरुङको सभापतित्व तथा तमू (गुरुङ) समाज कतारका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद गुरुङको प्रमूख आतिथ्यतामा फुलबारी रेष्टुरेन्टको सभाहलमा विभागले बैशाख पूर्णिमाको अवसर पारेर “दाजुभाई भेटघाट तथा सम्मान“ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमूख अतिथीको आसन ग्रहणसँगै समाजका संरक्षकहरु, सल्लाहकार तथा विशिस्ट ब्यक्तिहरुलाई ख्रेगी (फेटा) द्धारा सम्मान गरिएको थियो । तमूहरुको संस्कार र संस्कृति अनुसार बिधिगत रुपमा नेपालको राष्ट्रिय गान, गुरुङहरुको राष्ट्रिय गित, सहित ब्यानर अनावरण तथा दिप प्रज्वलन गर्दै कार्यक्रमको समुद्धघाटन गरिएको थियो । हरेक बर्ष बैशाख पूर्णिमाको अवसरमा माईती चेलीहरुको भेटघाट र सम्मान किन र कसरी गरिन्छ भन्ने बिषयमा निर्देशक सल्लाहकार टौमाया गुरुङले प्रष्ट पार्नु भएको थियो ।

माईती चेली भेटघाट तथा सांस्कृतिक कार्यक्रममा समाजका विशिष्ट ब्यक्तिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । वक्ताहरुले प्रवासमा रहेका माईती र चेलीहरुको सम्बन्धलाई माया सद्भाव र थप प्रगाढ बनाउने उद्धेश्यले मनाईने यो पर्वले फरक सन्देश दिएको बताउनुभयो । कला र संस्कृतिको संरक्षण गर्नको निमित्त समाजको मातहतमा स्थापित तमू साँस्कृतिक परिवारमा आवद्ध रहेका एक दर्जन भन्दा बढी कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । गुरुङहरुको लोक संस्कृतिमा आधारित गुरुङ समुदायमा प्रख्यात र मौलिक कौडा नाच साँस्कृतिक परिवारका कलाकारहरुले सामुहिक रुपमा पेश गरेका थिए । उक्त कौडाले नाचले थप रौनक थपेको थियो ।

साहित्यकार पुर्ण कान्छा गुरुङले आमा नामक शिर्षकमा कविता वाचन गरे, बिरानो देशमा चेली एक्लो हुन न परोस भन्ने मुक्तक तेज गुरुङले पेश गर्नुभयो । उक्त कविता, गजल र मुक्तकले चेलीहरुको मन जितेको थियो । प्रमूख अतिथि गुरुङले आफनो मन्तव्य बोल्दै प्रदेशको भूमिमा चेलीहरुले दिएको माया र सम्मानले थप प्रोत्साहन र आत्मबल मिलेको बोल्दै परदेशमा रहेका चेली माईतीहरुको सम्बन्ध युगौ युग सम्म कायम रहिरहने समेत बिश्वास व्यक्त गर्नुभयो ।

रोजिना गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण तारा गुरुङ, रश्मि गुरुङ र धन गुरुङले संयुक्त रुपमा गर्नु भएको थियो । सभापति तिलमाया गुरुङले कार्यक्रमको समापन गर्दै तमूहरुको परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै प्रवासमा पनि माईतीहरुलाई सम्मान गर्न पाउँदा आफू हर्षित भएको बताउदै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने सबैलाई एक मुष्ठमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा तमू (गुरुङ) समाजका माईती तथा चेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तमूहरुको मौलिक संस्कृति अनुसार ल्होसारको अवसरमा चेलीबेटी भोज र बैशाख पूर्णिामाको अवसरमा दाजुभाई भेटघाट गर्ने गर्दछ । समाजको संरक्षकत्वमा स्थापित तमू महिला विभागले हरेक बर्ष बैशाख पूर्णिामाको अवसरमा समाजमा आवद्ध रहेका माईतीहरुलाई भोज तथा सम्मान कार्यक्रम गर्दै आईरहेको छ ।