सम्पर्क

सिन्धुपाल्चोकमा गणतन्त्र दिवस २०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित भव्य रूपमा मनाइने

गणतन्त्र दिवस २०८२ को अवसरमा सिन्धुपाल्चोक जिल्लामा जेठ १४, १५ र १६ गतेसम्म विविध कार्यक्रमहरू आयोजना गर्दै तीन दिनसम्म भव्य रूपमा गणतन्त्र दिवस मनाइने भएको छ । यसका लागि जिल्ला समन्वय समितिका प्रमुख बालककृष्ण श्रेष्ठको संयोजकत्वमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार महासंघका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका व्यक्तिहरूको सहभागितामा गणतन्त्र दिवस जिल्ला समारोह समिति गठन गरिएको छ ।
समितिको जेठ ९ गते बसेको बैठकले निम्न कार्यक्रमहरू गर्ने निर्णय गरेको छ ः
स्वास्थ्य परीक्षण कार्यक्रमः जेठ १० गते जनस्वास्थ्य कार्यालयले जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको क्षयरोग लगायत नसर्ने रोगहरूको परीक्षण गर्ने ।

राष्ट्रिय झण्डा र दीप प्रज्वलनः जेठ १४, १५ र १६ गते जिल्लास्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघ–संस्थाका कार्यालयहरूको छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने । साथै, साँझको समयमा सम्पूर्ण कार्यालयहरू र जिल्लाबासीका घर–घरमा दीप प्रज्वलन गर्ने ।

मैत्रीपूर्ण फुटबल खेलः जेठ १४ गते बेलुका ४ः०० बजे चौतारा टुंडिखेलमा कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना कर्मचारी मिलन केन्द्रले गर्ने ।

खुल्ला दौड प्रतियोगिताः जेठ १४ गते बिहान ६ः३० बजे ५ कि.मी. खुल्ला दौड, ४० वर्षमाथिको ५ कि.मी. दौड तथा ३ कि.मी. महिला दौड प्रतियोगिता आयोजना गर्ने । यसका लागि जिल्ला खेलकूद विकास समितिले आवश्यक प्रबन्ध सहितको सहजीकरण गर्ने ।

मन्दिर सरसफाई कार्यक्रमः जेठ १४ गते बिहान ८ः०० बजे जिल्लास्थित सबै कर्मचारी, सुरक्षाकर्मी, पत्रकार तथा नागरिक समाजको उपस्थितिमा चौतारास्थित पुरानो बजारमा रहेको नारायणस्थान, कृष्ण मन्दिर र बनदेवी मन्दिरको सरसफाई गर्ने ।

शैक्षिक तथा खेलकुद सामग्री वितरणः जेठ १५ गते शिक्षा विकास तथा समन्वय इकाईले गैर सरकारी संघ–संस्थाहरूसँग समन्वय गरी फरक क्षमताका विद्यार्थीहरूका लागि हितकर शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने ।

प्रभातफेरी कार्यक्रमः जेठ १५ गते बिहान ७ः०० बजे भिन्तुना चोकस्थित भेला भई र्यालीसहितको प्रभातफेरी कार्यक्रमको आयोजना गर्ने। कार्यक्रममा जिल्लास्थित सबै सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख/कर्मचारीहरूको अनिवार्य उपस्थिति रहनेछ । साथै, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार महासंघका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका शिक्षक तथा नेपाल बार एसोसिएसनका अध्यक्ष लगायत नागरिक समाजका व्यक्तिहरूको सहभागिता रहनेछ । सो पश्चात फल्चामा भेला भई गणतन्त्रको महत्वमाथि प्रकाश पार्ने र विजय खेलाडीहरूलाई पुरस्कार वितरण गर्ने ।

फलफूल तथा खाद्यान्न वितरणः जेठ १५ गते प्रभातफेरी कार्यक्रम समापन भएपश्चात कर्मचारी मिलन केन्द्रले चौतारा अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल तथा चौतारा वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूलाई फलफूल तथा खाद्यान्न वितरण गर्ने। साथै, स्वास्थ्य चेकजाँचको कार्यक्रम रेडक्रस, जनस्वास्थ्य कार्यालय र चौतारा अस्पतालको समन्वयमा गर्ने ।

दीप प्रज्वलन कार्यक्रमः जेठ १५ गते साँझ ७ः०० बजे जिल्लामा रहेका सार्वजनिक महत्वका स्थानहरू, सामाजिक–सांस्कृतिक तथा ऐतिहासिक पूरातात्विक महत्वका सम्पदास्थलहरूको सरसफाइसहित परिसर एवम् समस्त स्थलहरूमा निर्वाचित जनप्रतिनिधि, स्थानीय समाजसेवी, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरूको सामूहिक सहभागितामा दीप प्रज्वलन गर्ने ।

खर्च व्यवस्थापनः उल्लिखित कार्यक्रमहरू सञ्चालन गर्नका लागि चियापान लगायत आवश्यक सामग्रीसहितको खर्च व्यवस्थापन चौतारा साँगाचोकगढी नगरपालिकाले मिलाउने ।

स्थानीय तहमा कार्यक्रमः सदरमुकाम रहेको पालिका बाहेकका स्थानीय तहका प्रमुखहरूले स्थानीय तहको प्रमुखको संयोजकत्वमा स्थानीय सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गरी गणतन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाउने ।

सुरक्षा व्यवस्थाः उक्त कार्यक्रम अवधिभर सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाउने ।

यसरी, सिन्धुपाल्चोक जिल्लामा गणतन्त्र दिवस २०८२ तीन दिनसम्म विविध कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाइनेछ । यसले गणतन्त्रको मूल्य र महत्वलाई जनमानसमा अझ गहिरो रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।