सम्पर्क

बागमती प्रदेशको आगामी बजेटमा स्थानीय आवश्यकता समावेश गर्न सांसद समीरको पहल

बागमती प्रदेशका सांसद एवं नेपाली काँग्रेस संसदीय दलका सचिव माननीय कृष्ण कुमार तामाङ (समीर) द्वारा आयोजित अन्तरक्रिया कार्यक्रमले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट तर्जुमा प्रक्रियामा स्थानीय तहको सहभागिता र आवश्यकताको बारेमा छलफल गरेको छ ।

शनिवार होटल टिबेट बौद्धमा भएको कार्यक्रममा माननीय कृष्ण कुमार तामाङ(समीर) ले बजेटको पूर्व सन्ध्यामा नेपाली काँग्रेस क्षेत्र नं २ का ४९ वटा वडाका नेपाली काँग्रेसका पदाधिकारी प्रतिनिधिहरू, नेपाली काँग्रेसबाट निर्वाचित जन प्रतिनिधिहरू समेतलाई बोलाइ स्थानीय विकासका लागी कहाँ कहाँ कसरी के के समस्या छन् ? कुन कुन विषयमा कसरी बजेट विनियोजन गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको हो ।

नेपाली काँग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति तथा मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको विशेष उपस्थितिमा भएको छलफलमा सहभागीहरूले नेपाली काँग्रेसलाई जनताले गरेको विश्वासका आधारमा बजेटको व्यवस्था गर्नु पर्ने बताएका छन् । पाटीको सक्रियता, आवश्यकता, मतदानको मूल्याङ्कन गरेर आवश्यकताका आधारमा प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्न पर्ने बताउँदै सहभागीहरूले नेपाली काँग्रेस क्षेत्र नं.२ मा यसरी समस्या पहिचान गरेर बजेटको व्यवस्था गर्न लागेकोमा आयोजकलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख समेत रहनु भएका क्षेत्रीय सभापति आइतमान तामाङले तिन तहको सरकार मध्य सङ्घले ज्येष्ठ १५ गते प्रदेशले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्न पर्ने भएको हुँदा यसका लागी प्रदेश सरकारबाट गर्न पर्ने सहयोगका लागी माननीय कृष्ण कुमार तामाङले जुन भूमिका खेल्नु भएको छ, त्यो भूमिका र यस क्षेत्रमा गरेका हरेक विकासका कामहरूको मूल्याङ्कन गर्नेहरुकै बिचमा बसेर बजेटका बारेमा छलफल गर्दा धेरै राम्रो भएको बताउनु भयो । उहाँले २ नं. क्षेत्रको विकासका लागी चालिएको यो कदमप्रति, बागमती प्रदेश सभाका सदस्य माननीय कृष्ण कुमार तामाङ लगायतलाई विशेष धन्यवाद दिनु हुँदै हरेक वडामा कम्तीमा पनि आवश्यकताका आधारमा २÷३ वटा विकासका योजनाहरूको लागी बजेटको व्यवस्था गरिदिन पर्ने बताउनु भयो ।

कार्यक्रममा इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष नेपाली काँग्रेसका नेता वंशलाल तामाङलगायतका नेता तथा पाटी प्रतिनिधिहरू पाटीको तर्फबाट निर्वाचित जन प्रतिधीहरूको उपस्थितिमा भएको छलफलमा माननीय तामाङले आफू नेपाली काँग्रेसका वडाका साथीहरूको साथ र सहयोगबाट निर्वाचित भएर यो स्थानमा पुगेको र हरेक वडाका समस्या समाधानका लागी वडाका साथीहरूको साथ र सहयोगका जरुरी परेको हुँदा आवश्यकताका आधारमा बजेटको व्यवस्था गर्नका लागी छलफल गरिएको बताउानु हुँदै आवश्यकताका आधारमा बजेटको व्यवस्था गर्नका लागी आफूले यो छलफलको आयोजना गरेको बताउनु भयो ।