दर्शन सुनार/लोकप्रिय राष्ट्रिय दैनिक, कतारदोहा कतार– प्रवासी भुजेल समाज कतारले उभौली पर्व (प्हुगाल पारिम) –२०२५ भव्य रूपमा मनाएको छ । शुक्रवार प्लाजामल स्थित लालीगुराँस रेस्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष विकास भुजेलको सभापतित्वमा आन्तरिक रूपमा आयोजना गरेको कार्यक्रममा कार्यसमिति पदाधिकारीहरू लगायत समाजमाका संरक्षक, प्रमुख सल्लाहकार,विशेष सल्लाहकार र मानार्थ सदस्यहरूको उपस्थिति तथा आतिथ्यता रहेको थियो भने उपस्थित सम्पूर्णलाई स्वागत गर्दै समाजका वरिष्ठ उपाध्यक्ष सन्तोष भुजेलले स्वागत मन्तव्य राखेका थिए ।
भुजेल समुदायको रीतिरिवाज अनुसार यो पर्व वैशाख पुर्णिामाको दिन विधिवत् रूपमा सूर्य देउता, वायु, जल, जङ्गल, जमिन गरी पन्च देवताको पूजा आराधना गरी मनाइने प्रचलन रहिआएको छ भने पूजा गर्ने मुख्य पुजारीलाई (रामे) भन्ने गरिन्छ । यस पटक (रामेको) भूमिका संस्थाका संरक्षक विनोद भुजेलले निभाएका थिए । उभौली पर्वलाई ऋतु परिवर्तनसँगै भूमि या प्रकृतिको पूजासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिन्छ । उभौली पर्व मनाउँदा विशेषगरि बालीनाली लगाए पछि आफूले लगाएको बालीनाली सप्रियोस्, रोग व्याधि हटोस्, भूकम्प, अतिवृष्टि भई बाढी पहिरो नचलोस्, सुक्खा खडेरी नपरोस्, सबैमा सहकाल होस्, अनिकाल नआओस् भनी सामूहिक रूपमा प्रकृतिको आराधना गर्ने गरिन्छ ।
समाजका महासचिव दुर्गा भुजेलले सहजीकरण गरेका कार्यक्रम अवधिभर समाजका प्रमुख सल्लाहकार प्रभात भुजेल, संरक्षक विनोद भुजेल, सह–कोषाध्यक्ष रोज भुजेल, उपाध्यक्ष गीता भुजेल, कोषाध्यक्ष शर्मिला भुजेल लगायतले आ–आफ्नो मन्तव्य राखेको थिए भने अध्यक्ष विकास भुजेलले छोटो समयको तयारीले पनि कार्यक्रम भव्य सफल पार्न खटिने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।
(पत्रकार प्रकाश दर्नालको सहयोगमा)
