सम्पर्क

गोले तामाङ वंश उत्थान समाजको ९औं राष्ट्रिय सम्मेलन धुस्कोटमा

सिन्धुपाल्चोकको हरियालीले ढाकिएको धुस्कोट गाउँ, जहाँ पहाडको काखमा बसेका घरहरू, प्राचीन गुम्बाहरू र सांस्कृतिक सम्पदाहरूले गोले तामाङ समुदायको इतिहास बोकेका छन् । यही ऐतिहासिक गाउँमा, (आज) जेठ ३ र ४ गते, गोले तामाङ वंश उत्थान समाजको ९औं राष्ट्रिय सम्मेलन तथा १२औं वार्षिक साधारणसभा हुँदैछ ।
(आज) ३ गते शनिबार गोले वंश साँझ हुनेछन् भने ४ गते औपचारिक कार्यक्रमको सम्पुर्ण तयारी भएको व्यवस्थापन समितिका संयोजक प्रीतम गोले तामाङले बताएको छ ।
धुस्कोट, गोले तामाङ समुदायको ऐतिहासिक बस्ती हो । यहाँ सदियौँ पुराना यार्सा र फारपाङ गुम्बाहरू अवस्थित छन्, जसले समुदायको धार्मिक र सांस्कृतिक जीवनशैलीलाई प्रतिबिम्बित गर्छन्। तीन जना गोले म्हेमेहरूले निर्माण गरेका तीनवटा पानीका कुवाहरू अझै पनि समुदायको जीवनशैलीको साक्षी बनेका छन् ।
सम्मेलनको तयारीमा धुस्कोटका बासिन्दाहरू उत्साहित छन् । बलेफी बजार, कोठे बजार, डाँडागाउँ लगायतका स्थानहरूमा स्वागतद्वार, व्यानर, लुङ्दार र धज्र्युहरू सजाइएको छ । स्थानीय समुदायले कार्यक्रमलाई भव्य बनाउन सक्रिय सहभागिता जनाएका छन् ।
देश तथा विदेशबाट हजारौं गोले समुदायका सदस्यहरूको सहभागिता अपेक्षित गरिएको छ । काठमाडौँको जडिबुटीबाट धुस्कोटसम्मका लागि बस रिजर्भ गरिएको छ । टाढाबाट आउने पाहुनाहरूका लागि मेश व्यवस्थापन, बसोबास र साउण्ड सिस्टमको सम्पूर्ण तयारी गरिएको छ ।
सम्मेलनमा ’गोले वंश साँझ’ कार्यक्रम आयोजना हुनेछ, जसमा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ । यसले समुदायको सांस्कृतिक धरोहरलाई पुनः उजागर गर्ने अवसर प्रदान गर्नेछ ।
बलेफी गाउँपालिकाभित्रका धुस्कोट, डाँडागाउँ, गहते, बिञ्जेल, माँखा, चिम्लिङ लगायतका गोले दाजुभाइहरू नेपालभर र भारतबाट पाल्नुहुने सम्पूर्ण गोले दाजुभाइहरूलाई स्वागत गर्न सम्पूर्ण तयारी गरिएको संयोजक प्रीतम गोलेले जनाएका छन् ।