२०७१ साल श्रावण १७ गते राति गएको विनाशकारी जुरे पहिरोमा ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै बलेफी गाउँपालिका वडा नं. ८ मा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा सार्वजनिक संगीतमय कार्यक्रम सञ्चालन भइरहेको छ ।
प्रख्यात कथा वाचक पं. श्री कपिलदेव भट्टज्यूको मुखारविन्दुबाट श्रीमद्भागवत महापुराणको अमृतमय ज्ञान कथा वाचन तथा पं. श्री डेगनाथ ढकालज्यूको सहवाचनमा बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सञ्चालन हुने पुराण आयोजक समितिले जनाएको छ । सप्ताह ज्ञान महायज्ञमा राष्ट्रियस्तरका कलाकारहरूबाट संगीतमय भजन–कीर्तन, देवलीला झाँकी, धार्मिक नाटक, तथा जेठ ४ गते दिउँसो १ बजे देखि सुरु हुने सवा करोड दीप प्रज्वलन कार्यक्रम रहने वडा नं. ८ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनु भएको छ ।
उक्त स्थानमा राधाकृष्ण मन्दिर निर्माण गर्न बागमती प्रदेश सरकारलाई अनुरोध गरिएको सकारात्मक भएको नेकपा एमालेका केन्द्रीय सदस्य सरेश नेपालले बताउनुभयो । अध्यक्ष रमेश कुमार श्रेष्ठका अनुसार, दिवंगत आत्माहरूको शान्तिको लागि सामूहिक प्रार्थना, धार्मिक भावना जगाउने झाँकी तथा सत्संगको माध्यमबाट समाजमा सदाचार र एकताको सन्देश फैलाउने उद्देश्य राखिएको छ । साथै, उक्त अवसरमा राधा–कृष्ण मन्दिरको निर्माण कार्यको औपचारिक घोषणा समेत गरिएको छ ।
