जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–१, निङ्गाले बागखोर स्थित मुडे–मेलुङ सडकखण्डमा शुक्रबार साँझ करिब ५ बजे यात्रुबाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । उपचारको लागि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल ल्याइएका ती चालकलाई साँझ ६ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा संलग्न बस र सवारी चालक दोलखा कालिन्चोक गाउँपालिका–६ निवासी २३ वर्षीय माधव बहादुर कार्की प्रहरी नियन्त्रणमा रहेका छन् । मृतक दोलखा मेलुङ गाउँपालिका–३ निवासी २३ वर्षीय सुरेश रसाइली भएको पुष्टि भएको छ ।
घटनास्थलमा प्रहरी चौकी मुडे, इलाका प्रहरी कार्यालय बाह्रबिसे, प्रहरी चौकी बलेफी तथा ट्राफिक प्रहरीसहित २० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । बाटोमा सवारी आवागमन भने सामान्य रूपमा सञ्चालन भइरहेको छ । दुर्घटनामा संलग्न बसलाई साँझ ६ः१५ बजे प्रहरी चौकी लामोसाँघुमा राखिएको छ ।